पुष महिनामा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि गरेको छ।
मन्त्रालयले आज शुक्रवार एक विज्ञप्ती जारी गर्दै पुस महिनामा देशभरबाट गरेको जिन सिक्वेन्सिङका क्रममा २४ जनामा ओमिक्रोन भेरियन्ट पत्ता लागेको जनाएको हो। पुसमा संकलित १ हजार १ सय ४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको थियो। जसमा एस जिन नेगेटिभ पत्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
ओमिक्रोन भेरियन्टले हुन सक्ने बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीहरुको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन पनि मन्त्रालयले निर्देशन दिएको छ। साथै मंत्रालयले अन्य भेरियन्ट जस्तै यस भेरियन्टबाट बच्न जनस्वास्थ्यका मापदण्डहरु पालनागर्न पनि सबैमा अनुरोध गरेको छ।