धरानका मूख्य खानेपानीको ट्रंक लाईनको मर्मत कार्य सुरु

दिव्य रोशनी(धरान)/ धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मूख्य ट्रंक लाईन (पाईप)मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि आज विहिवार देखि मर्मत कार्य सुरु गरेको छ ।
बोर्डका अनुसार खानेपानीका ट्रंक लाईन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मूख्य ट्रंक लाईनमा स्लुईस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण ट्रंक लाईनमा नयाँ स्लुईस भल्भ राख्नका लागि आज बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताए। चारकोशे जंगलबाट ल्याईने मूख्य ट्रंक लाईनको पाँच स्थानमा लिकेज भएको छ भने यता धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । उक्त स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोखरेलले बताए। उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिने छ । फुटेको ट्रंक लाईनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्ने उनले जानकारी दिए।
खानेपानी लिकेज भएको मूख्य ट्रंक लाईनको मेयर तिलक राईले स्थलगत रुपमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन समेत दिएका थिए ।
यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको मोटर एक महिना नबित्दै जलेको कारण समस्या भएको बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए। उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको समेत बताए। उनले जंगलक्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरु सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाईसकिएको रबाँकि २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भईरहेको समेत अधिकारीले बताए।