चैनपुरका शिक्षकलाई कक्षागत योग सम्बन्धि तालिम

मोहन कुमार राई
(संखुवासभा)/
स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ चैनपुर नगरपालिका भरीका सबै वडाका विद्यालयका शिक्षकहरुलाई नगर स्तरीय योग सम्बन्धी तालिम दिईएको छ।
नगरका हरेक विद्यालयमा कक्षागत योग शिक्षा प्रदान गर्ने उदेश्यका साथ संखुवासभा बहुमखी क्याम्पसमा सञ्चालन भएको २ दिने योग सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा चैनपुर पतन्जली नगर योग समितका अध्यक्ष एवं तालिम सहजकर्ता नरबहादुर अधिकारीले मन र शरीरलाई जोड्ने अभ्यास नै योग भएकाले शरीरलाई चलाएमान बनाउदै मनलाई शान्त राख्न योगले मद्धत गर्ने भएकाले बालबालिका, युवा तथा वृद्धा सबैमा योगले सकारात्मक उर्जा दिनसक्ने वताए। उनले मानिसको मन शान्त हुनुपर्ने भएपनि धेरै चन्चल हुने गरेकाले नकारात्मक सोचलाई सकारात्मक सोचतर्फ उन्मुख गराउन योगले सिकाउने बताए। विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएकाले शिक्षकहरुलाई योग तालिमको आवश्यकता परेको समेत सहजकर्ता अधिकारीले बताए ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिकका नगरप्रमुख भरतकुमार खत्रीले विज्ञानले विकास गर्नुभन्दा अघिदेखि नै विकास हुँदै आएको बैद्धिक, आयुर्वेदिक लगायतले योगको विकास हुँदै आएकोले स्वास्थ्यको हिसावले योगा ज्यादै उपयोगी भएको बताए। उनले विद्यालयमा कक्षागत पाठ्यक्रममा समेत योग सम्बन्धी समावेश भएको हुँदा शिक्षकले तालिम लिएर विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गरी निरोगी बालवालिका उत्पादनमा सहयोग पुर्याउन समेत बताए।
कार्यक्रममा योगका विभिन्न चरणहरु लगायत आयुर्वेद सँग सम्बन्धित उपचार पद्धती, उपयोग, महत्व, लगायत जडीबुटीको प्रयोगका विषयमा समेत तालिममा सहभागी शिक्षकहरुलाई ज्ञान प्रदान गरिएको चैनपुर आर्युवेद शाखाका प्रमुख एवं कविराज निरीक्षक दिनेश प्रसाद रायले जानकारी दिए। चैनपुर नगरपालिका स्तरीय विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा नगरका १९ वटा आधारभूत र माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा चैनपुर नगर उप प्रमुख मुना श्रेष्ठ, संखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुडाबहादुर कटुवाल लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।