फोनिज सुनसरीको अध्यक्षमा नविन गुरुङ

दिव्य रोशनी(धरान) / नेपाल आदिवासी जनजाती पत्रकार संघ (फोनिज) सुनसरीको अध्यक्षमा नविन गुरुङ निर्वाचित भएका छन्।
सोमवार रामधुनी नगरपालिका २ आदिवासी जनजाती संग्रहालयमा आयोजित फोनिज सुनसरीको भेलाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिती चुनेको हो। संघको नयाँ कार्यसमितीको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा राई सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेका छन्।
यसैगरी सदस्यहरुमा कमला चौधरी, बसन्त वान्तवा, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान र स्वर्णिम फोम्बो लिम्बु रहेका छन् । १३ सदस्यीय जिल्ला कार्यसमितीमा बाँकी रहेका दुई सदस्य नयाँ कार्यसमितीले चयन गर्ने अधिकार दिएको छ।
त्यसैगरी आसन्न प्रदेश महाधिवेसन र केन्द्रिय महाधिवेसनका प्रतिनिधीहरु चयन गर्नपनि नयाँ कार्यसमितीलाई निर्णय गरिएको निर्वाचन समितीका संयोजक गोपाल देवानले बताए।


अध्यक्षमा निर्वाचित भएका गुरुङले फोनिज सुनसरीको कार्यालय झोलामा मात्र सिमित नराखी फोनिज घर निर्माण गर्ने अभियानमा आफ्नो टिम होमिएको बताए। उनले तत्कालका लागि फोनिजको कार्यालय धरान १८ स्थित विमल स्मृति पुस्तकालयमा राखिने समेत बताए। सोहीक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले जिल्लाका कुनैपनि फोनिजकर्मीको मृत्यु भएमा उनका परिवारको दुःखमा समवेदनाका लागि मात्र नभई सकेको आर्थिक सहयोग गर्न कोष खडा गर्नका लागि व्यक्तिगत तर्फबाट नगद ५ हजारको घोषणा गरे। अध्यक्ष गुरुङको निर्णयमा उपाध्यक्ष सुनिल चौधरी, सचिव सुम्निमा राई सह–सचिव एलन गच्छदार, सदस्य कमला चौधरी, बसन्त बान्तवाले जनही ५/५ हजार र कोषाध्यक्ष राजकुमारी चौधरीले नगद ६ हजार कोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए।
यसअघि मंसिर २८ गते सम्पन्न अधिवेसनमा नयाँ सदस्यहरुको नामावली सार्वजनिकमा विवाद देखिए पछि स्थगित भएको बन्द सत्र आज सोमबार फोनिजको प्रदेश समितीको रोहबरमा सम्पन्न भएको हो।