आइमाईमान्छेले आँटे……

[व्यङ्ग्य]
आइमाईमान्छेले आँटे……
-कृष्ण प्रधान, सिलिगुड़ी (भारत)/

ग्रीसका राजा दारिउस । उनले उनतो राजप्रासादमा भव्य रुपमा भव्य भोजसभा आयोजन गरेका थिए, यस भोजसभालाई राजभाषामा ‘ब्याङ्क्वेट’ भनिन्छ । त्यसताका ग्रीसको जगजगी थियो । यीशुख्रीष्ट जन्मिनुभन्दा पहिसे यसको सिमाना भारतदेखि यूथोपियासम्म फैलिएको थियो । उक्त भोजसभामा भारतदेखि यूथोपियासम्मकै प्रजाहरू ग्वारग्वार्ति आएका थिए । नाच-गान-खानपिन वाल्छ्याल रुपमा भयो । रात पऱ्यो । विभिन्न् स्थानबाट आएका प्रजाहरू भक्कुमारी नाचेका-गाएकाले हत्तु हैरान भइसकेका थिए । भोजसभाबाट सबै प्रजाहरू आ-आफ्ना शयनकक्षमा सुत्नेपट्टि लागे । तिनका तीनजना अङ्गरक्षकहरू भने रातभरि जागै बसेर राजाको रखवारी गरिरहे ।
राति गफैगफमा उनीहरूले एउटा प्रतियोगिता आयोजन गर्ने निर्णय लिए । तीनजनाले प्रतियोगिताको विषय छनौट गरे । अन्त्यमा ‘संसारमा सबैभन्दा क्षमताशाली व्यक्तित्व को हुन्’ भन्ने विषयमा प्रतियोगिता गर्ने निर्णय सर्वसम्मतिले अनुमोदन गरे । उनीहरूले के निर्णय लिए भने, यस विषयमा प्रत्येकले आ-आफ्नो उत्तर लेखी राजाको सिरानमामुनि राख्ने छलफल भयो । राजाको निर्णयमा जस्तो उत्तर सठिक हुन्छ तिनलाई राजाले पुरस्कृत गर्नु मात्र होइन अमात्य पदमा वरण गरी राजसभामा राजाकै दाहिनेतिर बस्ने अधिकार दिनेछन् भन्ने घोषणा गरियो ।
उपस्थित प्रजाहरूमध्ये मात्रै तीनजना प्रतियोगीले मात्र आ-आफ्ना विचार वा निर्णय लेखी एकेकवटा खाममा भरी, सिल गरी राजाको सिरानमनि राखे । राजा उठ्ने बित्तिक्कै उनको सिरानमुन्तिर खाम देखे । यो खाम राखिएको कारणबारे एकजना अङ्गरक्षकले वृतान्त नालीबेली राजालाई सुनाए । राजालाई प्रतियोगिताको विषय सुठी नै मनपऱ्यो ।  सठिक र चित्तपर्दै उत्तर दिनेलाई पुरस्कृत गर्नाका साथै अमात्यको पगरी गुँथाइ राजसभा राजाकै सामु बस्ने अनुमति दिने प्रस्ताव पनि राजाले सहर्ष स्वीकारे । राजाले निर्णायकमण्डली छनौट गरे । निणार्यकमण्डलीहरूमध्ये  राजाबाहेक पर्सियाका तीनजना राजकुमार पनि सामेल थिए । पहिले जुन सीलबन्द खाम खोलियो त्यस खाममा लेखिएका थियो, ”मदिरा नै सर्वशक्तिमान” (Wine is Strongest) ।
दोस्रो खाममा, ”राजा नै सर्वशक्तिमान” (King is strongest) ।
तेस्रो खाममा, ”नारी नै सर्वेसर्वा” (Woman is all in all) ।
निर्णायकमण्डलीमाझ खासखास र खुसखुसा हुन थाल्यो । एकार्कामाझ कानेखुशी । निकै बेरपछि तीनैजना प्रतियोगीहरूले आ-आफ्ना विषयलाई तर्कसहित प्रमाण पेश गर्नुपर्ने सर्वसम्तिक्रमले निर्णय लियो । पहिलो प्रतिचयोगीलाई एकजना निर्णायकले भने, ”मदिरा नै सर्वशक्तिमान’ (Wine is Strongest) हो भन्न तर्कको आधारमा मदिरा नै सर्वशक्तिमान हो भन्ने तपाईको तर्क बुँदासहित पेश गर्नोस् ।
सभालाई प्रणाम गरी पहिलो प्रतियोगीले आफ्नो बुँदा पेश गरे, ”सम्माननीय निर्णायकगण ! मदिराकाो शक्ति गति डरलाग्दो हुन्छ सो बारे मेरा बुँदाहरू सुन्नुहोस् ध्यान लाएर । मदिराले मानिसको मनमा सोझै हाकाहाकी प्रभाव विस्तार गर्छ । मदिराको नशाले राजा, प्रजा, भिखारी, धर्मात्मा, पापी सबैको मन एउटै हुन्छ । टुन्न मातेपछि उनले आफूलाई राजा ठान्छन्, सेँठ ठान्छन् । उनीसित के छ वा छैन. समाजमा उनको सम्मान कति छ, गरिब हुन कि भिखारी सब बिर्सिन्छन् । दुःख, पीर, मर्का सबै बिर्सेर खुशीले उफ्रीपाफ्री गर्न थाल्छन् । त्यसबेला मनका राजा उनी । यति धेर बोल्छन् त्यसको हिसाबै हुँदैन । अरु बेला चाहिँ चुँ पनि गर्दैनन् । राजालाई खानसामा (भान्से) ठान्छन् : खानसामालाई राजा । पिलन्धरे, फुकीढल पनि मदिरा सेवन गरेपछि आफूलाई शक्तिशाली ठान्छन् ।  यो संसारलाई एक्लै छुलछुल पार्न चाहन्छन् । आफूलाई पक्षी ठानेर आकाशमा उड़्न चाहन्छन् । भगवानलाई गाली गर्नुसम्म गाली गर्छन् । साथीसँगी बिर्सेर साथीकै हत्या गर्नसम्म पनि तम्सिन्छन् । आफ्नो विरानो चिन्दैनन् । नालीलाई ओछ्यान ठानेर नालीमा दङ्गै सुतिदिन्छन् । स्वास्नीलाई आमा ठानी उनको चरण ढोग गरी ग्वाँ…ग्वाँ रुन्छन् । आफ्नै बाबुलाई अर्को पार्टीका विरोधी नेता ठानी घिच्रामा समाती घर-बाहिर लखेटिदिन्छन् ।  कहिले ग्वाँ….ग्वाँती रुन्छन् ता कहिले भुँड़ी फुटिञ्जेल हाँस्छन् । कहिले कम्मर मर्काइ-मर्काइ नाचिदिन्छन् भने कहिले चूपो लागि दार्शनिकजस्तो एकोहोरो हेरिबस्छन् । नशा छ्याङ्ङै भएपछि  उनलाई अघि बोलेका कुराहरू केही थाहा हुँदैन ।  हेर्नोस् सम्माननीय निर्णायकगण ! मदिराको शक्ति कति रहेछ ?”
दोस्रो प्रतियोगी – ” सम्मानीय एवम् पुजनीय महाराजा महोदय ! श्रद्धेय निर्णायकगण ! मेरो विचारमा राजानै शर्वशक्तिमान हुन् । तपाईहरूलाई थाहा भएकै कुरा हो, यो संसारमा मानिसको शक्तिबारे धेरै कुराहरू प्रमाणित भइसकेका छन् । जल, थल, अन्तरीक्षमा मानिसको प्रभुत्वबारे मैले यहाँ बखानिरहनु पर्दैन सायद । तर यिनै शक्तिसाली मानिसहरूलाई नियन्त्रण वा शासन गर्छन् राजाले । हकडक चलाउँछन् । राजाको हुकूम वा निर्देश अटेरी गर्ने साहस कसैको हुँदैन । कथङ्कल राजालाई अटेर गरे कि सर्वनाश…शास्ती । शास्ती मात्र होइन हजूर शास्ती मात्र होइन…मृत्युदण्ड पनि हुनसक्छ । हट्टा बाहिर पनि हुनसक्छ ।
जति पनि युद्धहरू हुन्छन् ती सबै नै राजाकै हुकूमअऩुसार नै हुन्छ । राजाको ”जाऊ…आक्रमण गर” भन्ने आदेश गुञ्जियो कि महामहिमको आदेश पालन आफ्ना मूल्यवान जीवनको वास्तै नगरी युद्धभूमिमा आफूलाई न्यौछावर गर्छन् । नदी तरेर, पहाड़ उक्लेर मृत्युखेल खेल्न सदैवा तत्पर हुन्छन् तमाम् सेनाहरू । कहिले मर्छन्, कहिले मार्छन् । सबै राजाको आदेश । अलमाइटी किङ्ग । कुनै हालतमा पनि  ती सेनाहरूले राजाज्ञा अटेर गर्दैनन् । लड़ाइँ जितेर उनीहरूले जे पाउँछन् राजालाई  सश्रद्धा सुम्पिदिन्छन् ।  राजको सम्पद दोबर-तेबर बढ़ेर जान्छ ।
आदरणीय निर्णायकगण ! योद्घाहरूकै हाराहारीमा अझै एक श्रेणीका मानिसहरू छन्, जसले खेतीपाती गरेर आफ्नो रगत पसिना फुर्मास गरी खेत-खलियान लहलह पार्छन् ।  यो श्रम राजाकै निम्ति हो । यिनीहरूको उत्पादनले राजभण्डार भरिन्छ ।  त्यतिमात्र होइन, यिनीहरूले निर्धारित समयमा राजकोषमा खजाना तिर्छन् । त्यस भए हेर्नोस्, राजा ता मात्रै एकजना छन् तर तिनको शक्त र क्षमता कति छ । राज्यका सम्पूर्ण प्रजाले तिनको आदेश अर्षरश पालन गर्छन् । जब राजाले आदेश दिन्छन्,  ”बनाऊ”, तुरुन्तै बनिन्छ ।  ”भत्काऊ”, तुरुन्तै  एक मिलिकमै डाङ्डुङ् ।  ”बिरुवा रोप” – रोपिन्छन् । ”रुख काट” – तुरुन्तै गार्लाम् गुर्लुम् । राजा भोज ग्रहण गर्दैछन्, उनले विश्राम गरिरहेका छन्, प्रहरीहरू आफ्नो विश्राम, भोक-तिर्खा त्यागी राजाकै पहरामा तैनात हुन्छन् अहर्निश । साँच्चै राजा ईश्वर हुन् । राजाको आदेश नै ईश्वरको आदेश ।
यसकारण, म के तर्क राख्न चाहन्छ भने, राजा नै सर्वशक्तिमान ।
तेस्रो प्रतियोगीले नारी नै सर्वेसर्वा भन्ने विषय आफ्ना गहकिलो र महकिलो तर्क पेश गरे, कदरणीय निर्णायकमण्डलीगण ! मैले पूर्व तार्किकहरूको गतिला तर्कहरू सुनेँ । मेरो एउटा प्रश्न के छ भने, राजाको शक्ति, क्षमता, प्रभाव साँच्चै नै असिमित छ । यसमा कुनै शङ्का गर्ने ठाँवै छैन । अनि मदिरा ? यसको शक्ति ता झन् अपरम्पार  छ…यो कुरा कसले अस्वीकार गर्न सक्छ र ! मदिराले भेटेपछि सबै घोड़ामा चढ़्छन् । मदिराले क्षमता अवश्यै बढ़ाउँछ । अब खास कुरा के हो भने, क्षमताशाली अति सर्वशक्तिमान राजा कहाँबाट आए ता ? नारीको कोखबाट । उनी आमा हुन् । गर्भधारिणी । एकजना राजा उनै आमाको गर्भबाट प्रसव भएका हुन् । राजा मात्र होइन, संसारभरिकै सम्पूर्ण मानिसका जन्मधात्री आमा हुन् ।  सेना, सामन्त, मन्त्री, कुल्ली-भरिया, जसले जल, थल, आकाश सम्बालिरहेका छन्, खेतीपाती, व्यापार वाणिज्य, संस्कृतिको विकासमा गहन भूमिका वहन गरिरहेका छन्, उनीहरू सबै कहाँबाट कसरी भूमिष्ठ भएका हुन् ? उनीहरू सबै नारी अर्थात् आमाका सन्तान हुन् । राज सिंहासनका राजा नारी वा आमाकै सन्तान । समुद्रका नाविक, थलवाहिनीका प्रमुख सेनापति नारी वा आमाकै गर्भबाट आएका हुन् ।
म निर्णायकगणलाई एउटा के प्रश्न गर्न चाहन्छु भने, के तपाईहरू आकाशबाट खस्नु भएको हो ता ? अब मदिराको कुरामा आउँ । अङ्गुरको रस । अङ्गुरको बगैँचा कसले स्याहार्छ ?  उनै नारी वा आमाकै सन्तानहरूले । युगौंदेखि नारी वा आमाहरूले आफ्ना सन्तानहरूलाई यो संसारमा व्याइरहेका छन् । छातीमा टँसाएर दस धारा दूध ख्वाएर  हुर्काउँछन् ।  कोही राजा, कोही नाविक, कोही सैनिक, कोही श्रमिक, कोही मालिक, कोही खेताला, कोही सिकर्मी, कोही डकर्मी, कोही शिक्षक, कोही डाक्टर, कोही नर्स, कोही के कोही केक । सबै आमाकै सन्तान हुन् । एकमात्र नारी मात्रै आमा हुन सक्छिन् ।  सम्माननीय निर्णानयकगण ! अब एकक्षणलाई नारीका महिमाका कुरा पनि सुन्नुहोस् । नारीबाहेक लोग्ने मानिसहरूको जीवन अचल हुन्छ । भनिएकै छ नि नो लाइफ विदाउट वाइफ । नारीको आकर्षण सहजै उपेक्षा गर्न सकिन्छ र !
एकजना लोग्ने मानिसले हीरा, मोती, सुन, चाँदी, प्रशस्तै रुपियाँ पैसा थुपारेका थिए । अचानक उनीसित एकजना सुन्दरी तरुणीसित भेट हुन्छ । उनले ती सबै अलङ्कार, गहना, रुपियाँ -पैसा उनै तरुणी सुन्दरीलाई प्रदान गर्दै भने, सुन्दरी मलाई तिम्रो सबै थोक देऊ, तिमीले मेरो सिरीखुरी लैजाऊ । मात्रै तिम्रो हृदयमा मलाई सामान्य स्थान देऊ ।  स्वास्नीको निम्ति लोग्ने मान्छेले आमाबाबा त्याग गरेका इतिहास हामीसित छँदैछ । देश छोड़्न परे पनि परोस् , नपरे पनि नपरोस् । एकमात्र स्वास्नी नै एकजना पुरुषको निम्ति आराध्यदेवी हुन्छिन् । अरु कुरा सबै तुच्छ । मेरो संसारमा अरु केही छैन ।
श्रद्धेय निर्णायकमण्डलीगण ! तपाईहरूले देखिरहनु भएको छ, स्वास्नीलाई सुख दिनका निमित्त  एकजना लोग्ने मानिसले कतिको परिश्रम गर्छ ।  आफूले कमाएका सम्पूर्ण रुपियाँ पैसा उनकै स्वास्नीको हातमा सुम्पिदिन्छन् ।  आफ्नी प्रेमिकाकाको निम्ति मानिस दुस्साहिक अभियानमा लागि परेको  सत्यासत्य बुझाउने उनको दुस्साहस । म राज भए तिमी मेरी रानी हुनेछ्यौ ।
एकजना सुन्दरी रमणीको निम्ति एकजना लोग्ने मान्छे उन्माद हुनसक्छन् महाराज । सुन्दरी प्रेमिकाका सामु बाघसित लड़ाइँ गर्न पनि तयार हुन्छन् लोग्ने मान्छे । पहाड़बाट समुद्रमा एकमिलिकमै हाम फाल्न पनि सक्छ । सर्पको टाउकाबाट मणि थुतेर प्रेमिकाका शीरमा राखिदिन पनि सक्छ । यी सबै तपाईहरूलाई थाहा भएकै कुरा हो । लोग्ने मान्छे नारीको निम्ति के गर्न सक्दैन ? स्वास्नीसित छलीछली रातभरि वाटस्एपमा च्याटिङ गरिदिन सक्छ ।
रिसानी माफ होस् महाराजा ! एउटा सामान्य उदाहरण यहाँ राख्न चाहन्छु । एकक्षणलाई सम्झनोस्…तपाईकी प्रेमिका छिऩ ‘रे…सम्झौं कान्छी स्वास्नी । तपाईजस्ता महान् महाराजासित प्रणय बन्धनमा बाँधिने उसलाई यत्रो साहस कहाँबाट आयो ? राजप्रसादमा महारानी हुँदाहुँदै  तपाईलाई उनको प्रणयमा लट्याएर तपाईको शिरको मुकुट अचानक फुकालेर उनको शिरमा राखिन् ‘अरे ! रिस होइन तपाईको मुहारभरि मधुर अनि मिठाइलो मुस्कान तैँछाड़् मैँछाड़् गर्नेछ । त्यसपछि उनले उऩको देब्रे हातले प्याट्टै तपाईको गालामा पिटिन् अरे ।
तेस्रो प्रतियोगी अविराम बोल्दै गए, त्यसो भए हेर्नोस् नारीको शक्ति कस्तो हुँदोरहेछ ?  त्यसभन्दा विशाल छ नारी शक्ति । सुन्दर नारीको सुन्दरतामा मोहित भएर ऋृषिमुनिहरू मैनबत्तीजस्तो पग्लेका हामीलाई थाहा छ । उखानै छ नि महामहिमा महाराजा ! भनाइ नै छ नि…
”मर्दले आँटे वर्ष दिन लाग्छ
आइमाईले आँटे नि एकै दिन ।”
यो गीत पङ्क्ति सुनेर महाराजा मुस्कुराए । गम्भीर एवम् प्रसन्न मुद्रामा बोले, तिम्रो नाम के हो ?  
नम्र स्वरमा तेस्रो प्रतियोगी बोले – मेरो नाम हजूर ? मेरो नाम जेरुबबेल ।
महाराज बोले – आऊ…जेरुबबेल मेरो आसनको दाहिनेतिर बस्ने अधिकार एकमात्र तिमीलाई नै छ । आजदेखि तिमी मेरो प्रमुख अमात्य । परम आत्मीय । तिमी मेरो विकल्प ।
करलत ध्वनिले राजसभा पागल भयो ।
(साभारः दिव्य रोशनी साप्तहिक, वर्ष १७ अंक ३३बाट)