किरात राई यायोक्खा सुनसरीले सप्ताहव्यापी रुपमा यलम्बर सम्बत मनाउने

दिव्य रोशनी(धरान)/ किरात राई यायोक्खा सुनसरीले यलम्बर सम्बत ५०८२ (यले दोङ)को अवसरमा सप्ताह व्यापीरुपमा विविध कार्यक्रम गरि मनाउने भएको छ।
यायोक्खाले आज शुक्रवार यलम्बर स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा यलम्बर सम्बत ५०८२ (यले दोङ)को अवसरमा सप्ताहव्यापी कार्यक्रमबारे गर्नेबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा यायोक्खा जिल्ला कार्य समितीका अध्यक्ष राजेन्द्र राईले यलम्बर सम्बत ५०८२ (यले दोङ)को अवसरमा बास्केटवल प्रतियोगिता र फुटसल प्रतियोगिताको समेत आयोजना गरिने बताए। जसमा पुष २१ गते थ्री अन थ्री प्लस टु अध्ययनरत महिला बास्केटवल प्रतियोगिता डिपो उच्च माविको बास्टेवल कोर्टमा आयोजना हुनेछ भने २३ गते यायोक्खा सुनसरी र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता धरान १५ स्थित विग फुटसलमा हुनेछ।
यसैगरी पुष २५ गतेदेखि २७ गतेसम्म किरात राईहरुको घर घरमा झण्डा राख्ने र पुष २८ गतेदेखि माघ १ गतेसम्म साकेला साँस्कृतिक पार्क एवं सुनसरीका किरात राईहरुको घर–घरमा दीप प्रज्वलन समेत गरिने भएको छ।त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तिम दिन पुष ३० गते धरानको भानुचोकमा यलम्बर साँझ ५०८२ को आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा चर्चित गायिका मेलिना राई, विल्सन विक्रम राई (तक्मे बुढा)को प्रस्तुती रहनेछ भने किरात राई साँस्कृतिक कलाकार संघका कलाकार तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने प्रचारप्रसार उपसमिति संयोजक विकास चाम्लिङले बताए।
१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो कार्यक्रममा मदन पुरस्कार विजेता राजन मुकारुङद्धारा कार्यपत्र प्रस्तुत गरिने समेत यायोक्खा सुनसरीले जनाएको छ।