धरानका मेयर तिलक राईद्वारा तमू ल्होसारको शुभकामना

दिव्य रोशनी (धरान)/ धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गुरुङ समुदायको महान चाड तमू ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदाय लगायत सबै नगरबासी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो ।
गुरुङ जातिमा नयाँ वर्षको आगमनको खुशियाली स्वरूप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमू ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मेयर राईले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका छन्,’ मेयर राईले भन्नुभएको छ, ‘यस्तो विविधता नेपालका लागि मात्र विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । तमू ल्होसारले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

तमू ल्होसार पर्वले नेपालको सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरि स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न समेत मेयर राईले आग्रह गर्नु भएको छ ।