दिपक श्रेष्ठको निर्देशनमा नेवारी चलचित्र बन्ने

दिव्य रोशनी/ नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा बरिष्ठ निर्देशक दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवाः गुठीले भव्य सम्मान गरेको छ ।
छोटो समयका लागि अमेरिका पुगेका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान–पत्र हस्तान्तरण गरेका थिए।


कार्यक्रम प्रस्तोता , टेलिभिजन प्रस्तोता हुँदै “गाउँले” नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३० भन्दा बढी नेपाली चलचित्रको निर्देशन गरिसकेका छन्। लामो समयको अन्तरालपछि निर्देशक श्रेष्ठले “घिन्ताङ” नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी दिए।
कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको थियो । निर्देशक श्रेष्ठले उक्त जिम्मेवारी सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिएका छन्। निर्देशक श्रेष्ठले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिका जस्तो देशमा बसेर पनि नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताए।