चिसो रातमा रविनको तातो गित

दिव्य रोशनी(धरान)/ पुषको चिसो रातमा चर्चित ब्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले धरान तताएको छ।
शनिबार धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित टुबोर्ग मेगा लाइभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले आफ्ना चर्चित गीतहरु पस्कि धरानेहरुलाई तताएका हुन्। जाडोको कुनैपनि पर्वाह नगरी कन्सर्ट हेर्न आएका हजारौ धराने दर्शकहरुलाई रविन एण्ड न्यू रेभुलुसन भरमग्दुर मनोरञ्जन दिलाए।
“हाउ आर यु धरान?” भन्दै स्टेजमा उत्रिएका गायक रविन तामाङले आधा दर्जन भन्दा बढी गीत गाएर धराने दर्शकहरुलाई जुरुक्कै उचालेका थिए। उनले नेपाल, पहिलो नाम, जती माया लाएपनि, भेटे मैले शिवाजी, केटा–केटी, दम मरो दम, चिसो चिसो हावामा लगायतका गीतहरु पस्केका थिए। उनले कार्यक्रममा युवाहरुलाई दुव्यर्सनमा नफस्न र लागुऔषधको एडिक्सन भएमा परिवारसँंग कुरा गर्न र सुधारगृहमा बसेर दुव्यर्सन मुक्त भई आफ्नो जिवनलाई सुन्दर बनाउन समेत आग्रह गरेका थिए।


मेगा लाईभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसन सँंगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए। गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन्भने दिपिका बस्नेत पनि नेपाल स्टारकी प्रतियोगी हुन्।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा कोभिड पछि भएको यो पहिलो धरानको खुल्ला लाईभ कन्सर्ट हो।चार वर्ष अघि न्यु ईयर इभ कन्सर्टमा प्रस्तुति दिन रविन एण्ड द न्यु रेभुलुसन धरान आएका थिए। (साभारःदिव्य रोशनी साप्ताहिक वर्ष १७ अंक ३१)