संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको संघीय अध्यक्षमा पुनःलिङदेन

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनले कुमार लिङ्देन मिराकको अध्यक्षतामा १ सय ८० सदस्यीय संघीय कार्यसमिती चयन गरेको छ।
यहि मंसिर २६ र २७ गते धरान १५ स्थित इजीराइडर होटलमा सम्पन्न भएको महाधिवेशनले लिङ्देनको अध्यक्षतामा १ सय ८० सदस्यीय संघीय कार्यसमिती चयन गरेको हो। समितीको उपाध्यक्षहरुमा ज्ञान बहादुर गुरुङ, ज्ञान बहादुर लिम्बु इम्बुङ, विशेन्द्र चेम्जोङ, विष्णु तुम्वाहाम्फे, चन्द्र खापुङ, इन्द्र कुमार श्रेष्ठ, विष्णु कुमार यक्सो, अम्बर बहादुर लिम्बु पन्धाक, रघुवीर ठगुन्ना, शर्मिला बागचन्द, तेम्डी शेर्पा, मिङमार लामा, कृष्णमान थेवे र प्रवासबाट उपाध्क्षयहरु चन्द्र कुमार लिङ्देन, टंक खापुङ, शर्मिला यक्सो लिम्बु रहेका छन्। यसैगरी महासचिवहरुमा अशोक चेम्जोंग,शान्ता योङहाङ चयन गरेको छ।
आज बुधवार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मंचका अध्यक्ष कुमार लिङ्देनले मंचले प्रस्ताव गरेको १० जोड ं१ प्रान्तहरु लिम्बुवान, किरात खम्बुवान, शेर्पा, ताम्सालिङ, मगरात, खसान, थरुहट, दलित मुक्ति प्रान्त, मधेश, नेवा, तमुवान सबै प्रान्तबाट संघीय कार्यसमितीमा प्रतिनिधित्व रहेको बताए। उनले प्रान्तीय अधिवेशन सम्पन्न गरी कार्यसमिती गठन भएको २ वर्ष पुगेको र हजार जना क्रियाशील सदस्य बनाएको प्रान्तीय मंचहरुको अध्यक्षहरु संघीय कार्य समितिको उपाध्यक्ष हुने समेत बताए।
अध्यक्ष लिङ्देनका अनुसार प्रान्तीय आन्दोलनलाई शशक्त बनाउन स्थापनाकालदेखि नै प्रान्तीय मंचको अध्यक्ष निर्वाचित भएको व्यक्ति संघीय मंचको संघीय अध्यक्षमा उम्मेद्वार हुन सक्नेछन्। यसैगरी मंचको महाधिवेशनले प्रदेश निर्वाचन क्षेत्रीय समितिलाई शसक्त कार्यकारिणी समितिको रुपमा विकास गर्ने,समितिहरुले तोकिएको क्रियाशील सदस्य निर्माण गर्न नसके उक्त समितिको पुनःअधिवेशन गराउन सकिने लगायतका सांगाठानिक निर्णयहरु समेत गरेको छ।
यसरी नै मंचले उठाउँदै आएको लिम्बुवान लगायत १० जोड १ को मुद्धाहरुलाई यो ५ वर्षमा वारपार गर्ने, आगामी चुनावमा मंचको खुकुरी चिन्हमा कम्तिमा तीन लाख भोट खसालेर मंचलाई राष्ट्रिय दल बनाउने र सबै प्रदेशहरुमा १५ जनाको दरले प्रदेश सांसदहरु उपस्थित गराउने लगायतको राजनैतिक कार्यदिशाहरु पनि पारित गरिएको छ।
मंचले पत्रकार सम्म्ेलन मार्फत महाधिवेशन सफल बनाउन भूमिका खेल्ने स्वदेशका सबै समितिहरु, प्रवास कार्य समितिहरु, सहयोगी व्यक्ति, संस्था, मिडिया एवं सुरक्षा क्षेत्रलाई पनि धन्यवाद ज्ञापन गरेको छ।