एचके नेप्लीज गोल्डेन हर्टसद्धारा निलिमाका परिवारलाई सद्भाव स्वरुप १ लाख सहयोग

दिव्य रोशनी(धरान)/ हङकङमा कार्यरत नेपाली महिलाहरुको संस्था एचके नेप्लीज गोल्डेन हर्टस्ले धरान १५ का दिव्याना श्रेष्ठ (निलिमा) का छोरीका लागि सद्भाव स्वरुप १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
आज सोमवार एक कार्यक्रमका बीच सो रकम निलिमाका आमा हेमु श्रेष्ठलाई प्रदान गरिएको छ। हङकङमा कार्यरत नेपाली महिलाहरुको संस्था एचके नेप्लीज गोल्डेन हर्टस्का डोल्मा तामाङ (तृष्णा शेर्पा) ले पठाएको सो रकम धरानका समाजसेवी तथा गायिका हर्षु राईले निलिमाका आमा हेमु श्रेष्ठलाई प्रदान गरेकी थिईन्।
४ वर्षसम्म हङकङमा कार्यरत रहँदा निलिमाले एचके नेप्लीज गोल्डेन हर्टस्मा समेत आबद्ध रही साथीहरुसँगै दुःखी पीडितहरुलाई सहयोग गर्दै आएकी थिईन्। शारिरीक अस्वस्थताका कारण उपचारका लागि ९ महिना अघि नेपाल आएकी श्रेष्ठको धरानमा नै असामयिक निधन भएको थियो।
आफ्ना नातिनीको शिक्षाका लागि आएको रकम ग्रहण गर्दै मृतक निलिमाका आमा हेमुले आफ्ना छोरी सम्बद्ध संस्था एचके नेप्लीज गोल्डेन हर्टस् प्रति आभार समेत व्यक्त गरेकी छिन्।