धरान रनको १० औं संस्करण विशेष रहने

(दिव्य रोशनी)/ धरान १० कि. रन, दशौं नेवा च्यारेटी रन २०७८ विशेष हुने भएको छ। प्रतियोगिता आगामी फागुन ७ गते हुनेछ।
गतवर्ष कोरोना महामारीका कारण सिमित धावक/धाविकाहरुले मात्र सहभागिता जनाएको धरान रनमा यसवर्ष अत्याधिक धावक÷धाविकाहरुको सहभागीता रहने आयोजकले जनाएको छ। आज शुक्रवार धरान रनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रोमु राईले नेपालकै सबैभन्दा ठुलो दौड प्रतियोगिता धरान रनको १० औ संस्करण भव्य रुपमा आयोजना गरिन लागेको बताए। उनले यसवर्षको धरान रन प्रतियोगितामा देश÷विदेशका आमन्त्रित धावक÷धाविकाहरुको सहभागिता हुने समेत बताए।
धरान रनको १० औं संस्करणको अवसरमा यसवर्ष विशेष प्रतियोगिता पहिलोपटक व्हील चेयर रेस प्रतियोगिताको पनि आयोजना गरिने भएको छ। धरान रनले आज शुक्रवारबाटै दर्ता फारम समेत खुलेको जानकारी दिएको छ। जसमा सर्वसाधरणका लागि दर्ता शुल्क ४ सय तोकिएको छभने विद्यार्थीहका लागि दर्ता शुल्क ३ सय तोकिएको छ। यसैगरी प्रतियोगितामा १७ देखि ३९ वर्षसम्म भित्रका खुल्ला दौडमा अघिल्लो संस्करण भन्दा जनही १० हजार पुरस्कार राशी बढाएको आयोजक धरान रन समुहले जनाएको छ। जसमा बिजेताले ६० हजार, दोश्रोले ४० हजार र तेश्रो हुने धावक÷धाविकाले ३० हजार पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।


यसैगरी आयोजकले १२ वर्ष मुनिका, १२ वर्षदेखि १६ वर्षसम्मका र ४० वर्षदेखि माथिका भेट्रान दौडमा प्रथम, दोश्रो र तेस्रो हुने धावक÷धाविकालाई नगद पुरस्कार क्रमश ७ हजार ५ हजार र ३ हजार प्रदान गरिने छभने ६० वर्ष माथिका धावक÷धाविकालाई पनि आकर्षक पुरस्कार दिईने छ। प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट उपलब्ध गराईनेछभने सबैभन्दा पहिले आईपुग्ने २ हजार धावकधाविकालाई आकर्षक मेडल प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगितमा खेलकुदमा योगदान पुर्याउने व्यक्तित्व र धरान समुहलाई योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान समेत गरिने भएको छ। यसवर्षको प्रतियोगिताको आकर्षकको रुपमा बिबिसी वल्र्ड मास्टर सेफ प्रतियोगिताका फष्ट रनरअप सन्तोष साह रहनेछन्।
पत्रकार सम्मेलनमा धरान रन समुहको मातहतमा रहेको नेवा च्यारेटी रनबाट स्थापना गरिएको “नेवा एजुकेशन फण्ड” अन्तर्गत धरानका विभिन्न सामुदायिक विद्यालयका १२ जना जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, विद्यालयका पोशाक, ब्याग समेत प्रदान गरिएको थियो।