चितवनमा हत्या गरिएका भिम बहादुर विश्वकर्माको न्यायका लागी संयुक्त दलित संघर्ष समितीले आन्दोलन गर्ने

दिव्य रोशनी(धरान)/ गत अशोज २८ गते चितवनका भिम बहादुर विश्वकर्मालाई मन्दिर प्रवेशमा रोकलगाई विभत्सरुपमा हत्या गरेकोमा उनको न्यायको लागी संयुक्त दलित संघर्ष समितीले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडी सार्ने भएको छ।
आज सोमवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघर्ष समितीका संयोजक रमेश गजमेरले चितवनमा भिम बहादुर विश्वकर्माले मन्दिर प्रवेश गर्न लाग्दा उनलाई अनहमा विभत्स रुपले हत्या गरेकाले उनको न्यायको लागी संयुक्त दलित संघर्ष समितीले आन्दोलन गर्ने बताए। उनले विश्वकर्माको हत्या लगायत दलितमाथि हुने छुवाछुत, विभेद, हत्या, बलात्कार, बैवाहिक सम्बन्ध विच्छेद, विभिन्न भौतिक सम्पत्ति नियन्त्रण, कुटपिट, दुव्र्यवहार, अपमान, प्रेम विवाहका बहानामा दलित युवा युवतीमाथि जालझेल षडयन्त्रमा फसाउने र कानुनी कठघरामा पुर्याउने लगायतका अपराधहरु देशव्यापी रुपमा बढेको समेत बताए।
पत्रकार सम्मेलनमा चितवन हत्याको स्थलगत अध्ययन गर्न पुगेका जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा शिल्पी विशेष समितीका अध्यक्ष दलमर्दन कामीले दलितहरुले मन्दिर प्रवेश गर्न लाग्दा ज्यानै सम्म लिनुको घटनाले नेपालमा अझैपनि दलित समुदायलाइृ कथित उपल्लो भनिएका जातीहरुको हेर्ने दृष्टिकोण अझैपनि नबद्लिएको बताए। उनका अनुसार भिम बहादुरले १५ वर्ष अघि मिस्त्रीको रुपमा आफैले चितवनमा दुर्गा मन्दिर निमार्ण गरेपनि त्यसपछि उनी लगायत दलितहरुलाई मन्दिर प्रवेशमा रोक लगाईएको थियो। गत अशोज २८ गते बडादशैंको नवमीकाका दिन मन्दिर प्रवेश गर्न लाग्दा मन्दिरका पुजारी सिताराम बस्नेतले फलामको पाईपले हिर्काएको र औषधी किन्न जादा औषधी व्यावसायी दिलीप श्रेष्ठले टाउकोमा ढुङगाले हानेर हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएको अध्यक्ष कामीले बताए। हत्याका आरोपित बस्नेत र श्रेष्ठ अहिले प्रहरीले नियन्त्रणमा रहेका छन्।
चितवन घटनापछि कार्तिक १३ गते धरानमा भएको सर्वपक्षिय भेलाले संघीय दलित मुक्ति मंचका केन्द्रिय अध्यक्ष रमेश गजमेरको संयोजकत्वमा संयुक्त दलित संघर्ष समिती गठन भएको छ। जसमा समितीको सदस्य सचिवमा लम्जेल संघर्षशिल रहेका छन्भने सदस्यहरुमा लाल बहादुर सेन्चुरी, जुद्ध लोहनी, खगेन्द्र नेपाली,, दान बहादुर घिमीरे,, नरेश विश्वकर्मा, श्यामराज विसुन्के, मणिराज सुनाम, सुमन गहतराज, पूर्ण गहतराज, धन बहादुर हमाल, हर्कराज चर्मकार, अमृता रामदाम, कुमार मंग्रान्ती रहेका छन्। यो संघर्ष समितीले चितवनका हत्याको मात्र नभई देशैभर समस्यामा परेका दलितहरुको पक्षमा ठोस आवाज उठाउने जनाएको छ।
समितीले चितवन घटनाका हत्यारालाई हदैसम्मको कार्वाहीको माग र स्थानिय दलित सरोकारका मुद्धा समेत राखी कार्तिक १४ गते ईलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्रिको कार्यालय, गृह मंत्रालय, र चितवनको जिल्ला प्रशासन कार्यालयमा ज्ञानपत्र बुझाएको छ।
समितीले दलितमाथि हुने गरेका घटनाहरु दिनप्रतिदिन बढ्दै गएकाले आगामी दिनहरुमा गर्ने संघर्षका कार्यक्रमहरु समेत तय गरेको छ। जसमा हरेक दलितमाथि भएका विभेदका घटनाको स्थलगत अनुसन्धान गर्ने, दलितमाथि भएका विभेदका घटना बारेमा लेखक पत्रकार, बुद्धिजिवी, जनप्रतिनिधी, कानुन व्यावसायी, प्रहरी प्रशासन, राजनीतिकदल र दलित संघसंस्था संग छलफल र अन्र्तक्रिया गर्ने, चितवनमा हत्या गरिएका भिम बहादुर विश्वकर्माको हत्यारालाई हदैसम्मको कार्वाहीका लागी शसक्त कानुनि प्रक्रियाको लागी पहल गर्ने, दलितमाथि हुने हरेक घटनाका विरुद्ध आवश्यक्ता अनुसार सांकेतिक विरोध, खबरदारी, धर्ना, भेला, प्रदर्शन, र्याली, कोणसभा, विरोधसभा गर्ने र दलितमाथि विभेद गर्ने, छुवाछुत, अपमान गर्नेलाई सामाजिक बहिष्कारका कार्यक्रमहरु गर्ने जनाएको छ।