धरानका मेयरद्धारा सरस्वती बालआश्रमका बालबालिकाहरुलाई शैक्षिक भ्रमणका लागि ४० हजार सहयोग प्रदान

(दिव्य रोशनी)धरान / धरान उपमहानगरपालिकाका मेयर तिलक राईले श्री सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुलाई शैक्षिक भ्रमणका लागि ४० हजार रुपैयाँ सहयोग गरेका छन्।
शुक्रबार मेयर राईले धरान वडा नं. ३ स्थित सरस्वती बाल आश्रमका बालबालिकाहरुसंगको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा शैक्षिक भ्रमणका लागी आश्रित बालबालिकाहरुलाई सहयोग गरेका हुन्। बालबालिकाहरु कात्तिक २२ गते शैक्षिक भ्रमणमा जादैछन्।मेयर राईले आफ्नो अनुभवहरु साटासाट गर्नेक्रममा तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदैं बालबालिकाहरुलाई अध्ययनमा निरन्तरता दिन आग्रह गरे। उनले शैक्षिक भ्रमणमा जादाँ एक÷एक वटा नोट बुक बोकेर रिपोर्ट गर्न पनि आग्रह गरे। मेयर राईले आगामी दिनमा आश्रममा रहेका बालबालिकाका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
आश्रमका पूर्व अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास वनेपालीले आश्रममा आश्रित बालबालिकाहरुको शैक्षिक भ्रमणका लागि मेयर राईले ४० हजार रुपैयाँ प्रदान गर्नु भएको जानकारी दिए। उनले कात्तिक २२ गते देखि २८ गतेसम्म आश्रमका बालबालिकाहरुले पोखरा, लुम्बिनी, पाल्पा लगायतको स्थानमा शैक्षिक भ्रमणमा जाने समेत जानकारी दिए।
कार्यक्रममा आश्रित बालबालिकाहरुले गायन, नृत्य, बिटबक्स जस्ता प्रतिभाहरु प्रस्तुत गर्नुका साथै देउसी समेत खेलेका थिए । बालबालिकाहरुलाई दक्षिणा स्वरुप मेयर राईले ३ हजार रुपैयाँ प्रदान गरेका थिए।