नेपाल सम्वत ११४२ को अवसरमा धरानमा प्रभात फेरी

दिव्य रोशनी (धरान)/ झिंगु समाज धरानले नेपाल सम्वत ११४२ को अवसरमा आज शुक्रवारप्रभात फेरीको आयोजना गरेको छ।
धरान ३ चिनिया चौक स्थित शंखधर साख्वाको मूर्तिमा माल्यापर्ण गरी शुरुभएको प्रभातफेरीले माछाभौडी, भानुचौक, छाताचौक, टेलिकम, पुरानो बजार परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेको थियो। नेपाल सम्वतलाई व्यापक रुपमा प्रचार÷प्रसार गर्न आयोजना गरिएको जनचेतनामूलक प्रभात फेरीमा लाखे नाच, धिमे बाजा तथा साईकल र्याली समेत निकालिएको थियो।
कार्यक्रममा प्रमुख अतिथी १ नं प्रदेशका सभामुख प्रदिप भण्डारीले अहिले चलन चल्तिमा आएका हरेक संवतहरु महापुरुष, युगपुरुष, धर्म र जातपातको नाममा भएकाले यो नेपाल संवत नेपालको आफ्नै मौलिक संवत भएको बताए। उनले नेपाल संवत हाम्रो गौरवको संवत भएकाले सबैले साझा संवतका रुपमा अगाडी बढाउनुपर्ने बताए।
यसैगरी कार्यक्रममा विशेष अतिथी धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राईले नेपालको गौरवका रुपमा नेपाल संवतलाई सबै समुदायले अपनत्व ग्रहण गर्नुपर्ने बताए।


त्यस्तै समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितले २०५६ तत्कालिन श्री ५ को सरकारले नेपाल सम्वतका संस्थापक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्दै नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिएपनि सरकारी कामकाजमा अझैपनि लागु गर्न नसकेको बताउदै नेपालको धार्मीक ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको नेपाल सम्वतलाई सरकारले व्यवहारमा पनि लागु गर्नुपर्ने बताए।
नेपाल सम्वतलाई सरकारी कामकाजमा लागु गराउन झिंगुसमाजले विगत २५ वर्षदेखि प्रभात फेरी, अन्तरक्रिया कार्यक्रमहरु गर्दै आएको छ। यसवर्षपनि १ न.ं प्रदेश सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्तामा सो कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा प्रदेश सांसद चन्द्र श्रेष्ठ, सावित्री जोशी, विभिन्न राजनितीदलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।