नेपाल सम्वत ११४२ को अवसरमा प्रभात फेरी हुने

दिव्य रोशनी (धरान)/ झिंगु समाज धरानले नेपाल सम्वत ११४२ को अवसरमा कार्तिक १९ गते प्रभात फेरीको आयोजना गर्ने भएको छ।
आज बुधवार धरानमा समाजले एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सम्वतलाई व्यापक रुपमा प्रचार/प्रसार गर्न जनचेतनामूलक प्रभात फेरीको आयोजना गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा समाजका अध्यक्ष सुरेन्द्रमान स्थापितले २०५६ तत्कालिन श्री ५ को सरकारले नेपाल सम्वतका संस्थापक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्दै नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिएपनि सरकारी कामकाजमा अझैपनि लागु गर्न नसकेको बताए। उनले नेपालको धार्मीक ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको नेपाल सम्वत सम्पूर्ण राष्ट्रवासीहरुको संवत भएकाले यसलाई सरकारले व्यवहारमा पनि लागु गर्नुपर्ने बताए।
यसैगरी समाजका उपाध्यक्ष हरेराम कर्मचार्यले नेपाल सम्वतले स्थापनाकालदेखि ८ सय ८८ वर्षसम्म अनवरत राज्य स्तरको सम्वतको रुप धारण गर्न सफल भएपनि राणा प्रधानमन्त्री चद्र शम्सेरले १९६० सालमा विक्रम सम्वत लागु गरी नेपाल सम्वतलाई ओझेलमा पारेको बताए। उनले नेपाल सम्वत कुनै राजा महाराजा, सामन्त वा ऐतिहासिक महापुरुषले विजयको स्मरण वा राज्यरोहणको खुसीयालीमा चलाएको सम्वत नभई सामान्य व्यक्तिले गरिब जनताको ऋण मोचन गरि दाश मुक्त बनाइ चलाएको सम्वत नै नेपाल सम्वत भएको बताए।
नेपाल सम्वतलाई सरकारी कामकाजमा लागु गराउन समाजले विगत २५ वर्षदेखि प्रभात फेरी, अन्तरक्रिया कार्यक्रमहरु गर्दै आएकाले यसवर्षपनि १ न.ं प्रदेश सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्तामा कार्यक्रमको आयोजना गर्न लागिएको सचिव देवराज श्रेष्ठले बताए। उनले धरान ३ स्थित चिनिया चौकबाट बिहान ७ः३० बजे शुरु हुने प्रभात फेरीले माछाभौडी, भानुचौक, छाताचौक, टेलिकम, पुरानो बजार हुँदै चिनिया चौकमा रहेको शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको समेत बताए।
यस्तै नेवाः देय दबु धरान नगरका अध्यक्ष मनोहर शाक्यले नेपाल सम्वत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीहरुको भएकाले यसलाई जनमानसमा बुझाउन संचारकर्मीहरुको पनि महत्वपूर्ण भूमिका रहने बताए। उनले यसवर्ष हुने प्रभात फेरीमा धेरै संख्यामा जनसहभागिता हुने समेत बताए।
कार्यक्रममा नेवाः देय दबुका जिल्ला अध्यक्ष तिर्थराज मास्के, नेवाः देय दबु १ नं. प्रदेश सल्लाहकार राजिव हलवाई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई लगायतको उपस्थिती रहेको थियो।