पत्रकार महासंघ सुनसरीको सभाहल निमार्णमा धरान उप–महानगरपालिकाले सहयोग गर्ने

(दिव्य रोशनी)/ नेपाल पत्रकार महासंघ सुनसरीको सभाहल निमार्णको लागि धरान उप–महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
आज सोमबार धरान उपमहानगरपालिकाले आयोजना गरेको सञ्चारकर्मीहरुसँग भेटघाट तथा शुभकामना कार्यक्रममा मेयर राईले पत्रकार महासंघ सुनसरीको सभाहल निमार्ण गर्न उप–महानगरपालिकाले ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । उनले श्रमजीवि पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्नेगरी र सञ्चार संस्थाहरुलाई सहयोग गर्ने विषयमा तिहारपछि संचारकर्मीहरु संग बसेर छलफल गरिने समेत बताए । सोहीक्रममा मेयर राईले तिहार र छठ पर्वको शुभकामना दिदै चाँड पर्वको अवसरमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्न पाउँदा आफुलाई अत्यन्तै खुशी लागेको बताए। उनले उपमहानगरपालिकाले गरेका हरेक गतिविधिहरु उपमहानगरपालिकाको वेवसाईटमा तत्काल अपडेटिङ गर्न पनि सुचना शाखालाई निर्देशन दिए।
धरान उपमहानगरपालिकाले पहिलो पटक चाडपर्वमा सञ्चाकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेको हो । यसअघि धरान उपमहानगरपालिकामा यस्तो परम्परा थिएन । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासँघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पत्रकार महासंघका पूर्व उपाध्यक्ष सन्तोष काफ्ले, खेलकुद पत्रकार महासंघ सुनसरीका अध्यक्ष रत्न आचार्य, क्रियाशिल पत्रकार महिला सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ, पत्रकार रणध्वज लोहार, महिला पत्रकार गंगा बराल लगायत पत्रकारहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।