‘प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ’ स्वास्थ्य राज्यमन्त्री खापुङ

धरान / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनी खापुङले कार्तिक १५ गतेपछि प्रदेश १ मा गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।
आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री खापुङले यस्तो बताउनु भएको हो । ं ‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ, तर गठनबन्धन सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने भन्नेबारे मलाई जानकारी छैन,’ उहाँले भन्नुभयो । राज्यमन्त्री खापुङले एकीकृत समाजवादीबाट नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने दाबी गर्नुभयो ।
यस्तै, स्वास्थ्य राज्यमन्त्री खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले स्वास्थ्यमन्त्री विरोध खतिवडासहित धरानका मेयर तिलक राई पनि सदस्य रहेको छानबिन समितिले तयार गरेर बुझाउने प्रतिवेदनले पदाधिकारी हटाउने कि नहटाउने भन्ने निर्णय हुने बताउनुभयो । उच्चस्तरीय छानबिन समितिले छानबिन गरिरहेको अवस्थामा विपीको बारेमा थप आफूले केही प्रतिक्रिया दिन नमिल्ने उहाँको भनाई थियो । तर विपीको समस्या सरकारले चाडै समाधान गर्ने बताउँदै मन्त्री खापुङले भने पहिले पनि नमुना थियो अव फेरि पनि प्रतिष्ठान नमुना बन्नेछ ।
स्वास्थ्य राज्यमन्त्री खापुङलाई राजनितिक दल, नागरिक समाज, धरान सरोकार समाज काठमाडौं लगायतका प्रतिनिधिले पैसा खुवाएर राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुले विपी प्रतिष्ठानलाई धरासायी बनाएकाले पदाधिकारी हटाउनु पर्ने र पैसा नतिरी आउने योग्य, दक्ष पदाधिकारी नियुक्त गर्नुपर्ने सुझाव समेत दिएका थिए ।