किराया सुनसरीको नवौं अधिवेशन आगामी मङ्सिरमा हुने

(दिव्य रोशनी,धरान) / किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ ।
शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा मङ्सिर २४ र २५ गते नवौं जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो ।
यसैगरी यायोक्खाको शनिवार बसेको बैठकको अवसर पारेर किरात राई यायोक्खाको पूर्व केन्द्रिय अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो मेयर कोषबाट किराया सुनसरीको कार्यालय व्यवस्थापनका लागि १ लाख ५० हजार बराबरको मल्टिमिडिया, मिक्सर, साउण्ड सिस्टम हस्तान्तरण गरेका छन्।
यस्तै, बैठकमा १२ औं राष्ट्रिय जनगणनामा जात÷जातिको महलमा राई, पूर्खाको भाषामा आ–आफ्नो थरगत भाषा (जस्तैः दुमि, बान्तवा, चाम्लिङ, वाम्बुले, तिलुङ, खालिङ, बायुङ÷बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, कोयू÷कोयी, साम्पाङ, थुलुङ, पुमा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ÷छुलुङ, फाङ्दुवाली, मुगा÷मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम÷लिङ्खिम, देवास, नेवाहाङ) लेखाउने, मातृभाषामा आ–आफ्नो थरगत भाषा लेख्ने, दोस्रो भाषामा नजिकको राई जातिको थरगत भाषा मध्येको कुनै एक भाषा लेख्ने र धर्मको महलमा किरात लेखाउन मातहतका कार्यसमितिहरु, भाषिक, भातृ संस्थाहरुलाई परिचालन गर्ने र गराउने निर्णय समेत गरेको छ।