स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता तालिम

(दिव्य रोशनी,धरान) / धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिम दिईएको छ ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र १८ नं वडाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि तालिम दिईएको हो। वडा नं. १८ को वडा कार्यालयमा आयोजित खाद्य स्वच्छता सम्बन्धि अभिवृद्धि तालिममा ४० जना स्ट्रिड फुड व्यवसायीहरु सहभागि भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए। शुक्रबारबाट शुरु भएको अभिवृद्धि तालिम शनिबार समापन हुनेछ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशिनाथ घिमिरे, तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजन कुमार रिजाल र खाद्य अधिकृत निरज कट्वालले सहजिकरण गरेका छन् । तालिममा सहभागी भएका व्यवसायीहरुलाई शनिबार तालिम सम्बन्धि पुस्तक, मास्क, ग्लोब्स र प्रमाण पत्र वितरण गरिने अधिकृत सापकोटाले बताए।
कार्यक्रममा प्रमुख अतिथि मेयर तिलक राईले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यही वडामा भएको बताउँदै विरामी र विरामी कुरुवाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरे । उनले सडक छेउछाउमा विक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता गुणस्तर गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको समेत बताए।यसैगरी उपमेयर मञ्जु भण्डारीले सडक छेउछाउ खाद्यपदार्थ विक्री वितरण गर्दा गुणस्तरिय खानेकुरा विक्री वितरण गर्नुपर्नेमा जोड दिएका थिए।