संघीय लिम्बुवान मञ्च नेपालको नगर तथा जिल्लाको महाधिवेशन हुने

(दिव्य रोशनी)/ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालको नगर तथा जिल्लाको तेश्रो महाधिवेशन यही कार्तिक २६ गते सम्पन्न हुने भएको छ।
बुधवार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष अमर ईजमले मञ्चको नगर तथा जिल्ला महाधिवेशन यही कार्तिक २६ गते धरान १५ स्थित होटल ईजिराईडर्सको सभाहलमा सम्पन्न गर्न लागिएको बताए। उनले उक्त अधिवेशनले नगर जिल्ला तथा सिङ्गो पार्टी र समाजलाई उत्कृष्ट योगदान दिदै स्वायत्त लिम्बुवान राज्य तथा दश जोड एक प्रदेशका स्थापनाका लागी सक्षम नेतृत्व चयन गर्ने समेत बताए।
पार्टीका केन्द्रिय अध्यक्ष कुमार लिङदेन (मिराक)को प्रमुख आतिथ्यतामा सम्पन्न हुने अधिवेशनमा विभिन्न जिल्लाहरुबाट २ सय भन्दा बढी पर्यवेक्षक तथा अतिथी, प्रतिनिधीहरुको सहभागिता रहने मञ्चले जनाएको छ।
मञ्चले अधिवेशनलाई पूर्ण रुपमा सम्पन्न गराउन जिल्ला अध्यक्ष अमर ईजम लिम्बुको संयोजकत्वमा ९ सदस्यिय समिती समेत तोकेको छ। जसमा समितीको सदस्य सचिवमा निर्मल राई, अर्थ संयोजकमा डम्बर थक्लङ र सदस्यहरुमा सन्जुहाङ सावा, मनोहर थलङ, ईन्द्र नेम्बाङ र जिब्राईल मनसुरी रहेका छन्। यसैगरी प्रचार प्रसार तथा जनपरिचालन संयोजकमा रमेश राई र अनुगमन समिती संयोजकमा भुपेन्द्र सुन्दर लावती रहेका छन्।