जुनियर मिस धरानको फिनाले कार्तिक १३ गते हुने

(दिव्य रोशनी,धरान)/ जुनियर मिस धरानको फिनाले यही कार्तिक १३ गते हुने भएको छ।
ड्रिम मोडलिङ एजेन्सीले आज बुधबार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा आयोजक संस्थाका सिईओ सौरभमान श्रेष्ठले धरान १८ स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा हुने जुनियर मिस धरानको फिनालेका सम्पूर्ण तयारीहरु पुरा भएको बताए। उनले सन् २०१८ मा स्थापना भई बच्चाहरु र युवाहरुको क्षमता अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने, आत्मविश्वासको विकास गर्ने लगायत विभिन्न विषयलाई मुख्य आधार बनाएर विभिन्न समयमा सौन्दर्य प्रतियोगिता, फेसन शो लगायतको प्रतियोगिता सम्पन्न गर्न सफल भएको समेत बताए।
ड्रिम मोडलिङ एजेन्सीले जुनियर मिस धरानका लागि गत फागुन १० र १५ गते अडिसन लिई ट्रेनिङ शुरु गरिएपनि कोरोनाका कारणले रोकिएको टे«निङ पुनः भाद्र २२ गतेदेखि शुरु गरि सम्पन्न गरिएको कार्यक्रम संयोजक निश्चल पलिखेले बताए। उनले धरानमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताले बच्चाहरुको क्षमता अभिवृद्धि गर्ने अपेक्षा लिएको समेत बताए।
पत्रकार सम्मेलनमा प्रमुख अतिथी फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले कार्यक्रम सफलताको कामना गर्दै यस्ता कार्यक्रमले बालबालिकाहरुले आफ्ना प्रतिभा देखाउने अवसर प्राप्त भएको बताए। त्यस्तै विशिष्ट अतिथी क्रियाशिल पत्रकार महिला सुनसरीकी अध्यक्ष मनिता चाम्लिङले बालिकाहरुमा भएको प्रतिभालाई यस्ता कार्यक्रमहरुले प्रतिभा प्रफुस्टनसँगै क्षमता अभिवृद्धि गर्नमा सघाउ पुग्ने बताईन्।
प्रतियोगिताका बिजेताले नगद १५ हजार र ट्रफि सहित पाँच लाखको ईन्सुरेन्स, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउने छन्। यसैगरी फस्ट रनरअपलाई नगद १० हजार सहित ट्रफि, ३ लाखको ईन्सुरेन्स, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरिने छभने सेकेण्ड रनरअपलाई नगद ५ हजार सहित दुईलाखको ईन्सुरेन्स, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा धरानका विभिन्न विद्यालयमा अध्ययनरत ६ वर्षदेखि १४ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागिता रहेको छ।
यस कम्पनिले विगतका वर्षहरुमा “द स्प्रिङ फेसन सो”, “मोडल अफ द ईयर सिजन १ र २”, “पूर्वाञ्चल मेसिभ फेसन शो” र “मिस्टर एण्ड मिस सुनसरी सिजन १ र २” को समेत आयोजना गरिसकेको जनाएको छ।