धनकुटे रोडको खाल्डाखुल्डी तिहार अघि नै कालोपत्रे गरिने

(दिव्य रोशनी/ धरान)/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी तिहार अघि नै कालोपत्रे गरिने भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थितिमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडमा भएका खाल्डोहरुलाई पुर्न तथा कालोपत्रे गर्नका लागि एक उपभोक्ता समिति र अुनगमन समिति समेत गठन गरिएको छ। जसमा समितिको अध्यक्षमा सुर्य कुमार लिम्बु, सचिवमा कुन्दन तामाङ र कोषाध्यक्षमा उमा राजभण्डारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुनिल खड्का, नवराज श्रेष्ठ, रवि लिम्बु, भावना सुब्बा, नमिता राई र टिका लिम्बु रहेका छन्। यस्तै, अनुगमन समितिको संयोजकमा धरान वडा नं. १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई चयन गरिएको छभने सदस्यहरुमा निर्मल राई, पुर्णबहादुर गुरुङ, हर्क साम्पाङ र रेणुका राई रहेका छन् ।
मेयर राईले धनकुटेरोड धेरै पुरानो सडक भएको हुनाले समय समयमा बिग्रि रहने अवस्था रहेको बताए। उनले विपी प्रतिष्ठानजाने धनकुटे रोडमा गत वर्ष पनि केही बजेट छुट्याएर खाल्डाखुल्डी पुरेर पिच गर्ने योजना बनाउँदै गर्दा केहीदिन अघि मात्र आएको अविरल वर्षाले फेरी जस्ताको त्यस्तै बनाएको समेत बताए। मेयर राईले धनकुटे रोडको बाटो भएर एम्बुलेन्स सहित दैनिक सयौं सवारी साधनहरु वीपी प्रतिष्ठानमा उपचारको लागि आउने भएको हुनाले समस्या नहोस् भनेर तिहार अघि नै काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन्।
उपमहानगरपालिकाका योजना अधिकृत किरण भूजेलले नगरपालिकाको सडक मर्मत कोषबाट धनकुटे रोडको खाल्डाखुल्डीलाई कालोपत्रे गरिने जानकारी दिए।