ब्लडफर नेपालले मनायो तेश्रो वार्षिक उत्सवः रगतको पहुँचमा नरहेकालाई विशेष प्राथमिकता दिइने

दिव्य रोशनी (धरान)/ रगतको अभावमा अस्पतालको शैयामा छट्पटाईरहेका बिरामीहरुलाई रगत प्रदान गर्दै आईरहेको ब्लड फर नेपालले आफ्नो तेश्रो वार्षिक उत्सव मनाएको छ।
आज बुधवार धरानको होटल ज्वाई खानामा आयोजित वार्षिक कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका सुनसरी कोअर्डिनेटर किशन कुमार रौनियारले धेरै व्यक्तिमा आफुलाई समस्या पर्दा रगत लिने तर अरुको समस्यामा रगत डोनेशन नगर्ने प्रवृतिले पनि ब्लड बैंकमा रगतको अभाव हुने बताए। उनले विशेषगरी गाउँघरबाट आएका बिरामी र रक्तदाता खोज्न नसकेका बिरामीहरुलाई प्राथमिकता दिएको बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरीका सभापति उमेश थापाले अहिले कोभिडको महामारीले गर्दा रक्तदान कार्यक्रमको आयोजना नहुँदा नेपालमै रगतको अभाव भएको बताए। उनले रक्तदान गर्न चाहने संघ÷संस्थाले आयोजना गर्न चाहनेमा रेडक्रसले स्वास्थ्य प्रोटोकल अपनाएर भएपनि सहयोग गर्ने वचन दिए। सभापति थापाका अनुसार कोरोना महामारीमा सुनसरीमा मात्रै १७ हजार भन्दा बढीले रक्तदान गरेका छन्।
यसैगरी कार्यक्रममा प्राध्यापक किशोर थुलुङ राई, होप धरानका अध्यक्ष निश्चल पलिखे, फोटो पत्रकार विकास चाम्लिङ लगायतले ब्लड फर नेपालले पुर्याउँदै आएको मानविय सेवाको मुक्त कण्ठले प्रशंसा गरेका थिए। सोहीक्रममा होप धरानका तर्फबाट अध्यक्ष निश्चल पलिखेले संस्थालाई ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेका थिए।
कार्यक्रममा रक्तदाता तथा संस्थाका सदस्यहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरिएको थियो। पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम संस्थाका को–अर्डिनेटर सरोज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।