[व्यङ्ग्य] पाकेटमार

पाकेटमार
  – कृष्ण प्रधान, सिलीगुड़ी (उत्तर बङ्गाल, भारत) ।

अङ्ग्रेजीको ‘पकेट’ शब्द अपभ्रंश भई हाम्रो जिब्रोमा ‘पाकेट’ वा ‘पाकिट’ रुपमा वास बस्न थालेको हो। पाकेटको अर्थ खल्ती वा गोजी हो । त्यसरी नै पाकेटभित्र भएको मनी पर्स (वालेट) वा पैसा आदि थाहा नपाउने पाराले एकमिलिकमै झिकेर आफ्नो बाटो तताउने व्यक्तिलाई ‘पाकेटमार’ वा ‘पाकेटमारा’ भनिन्छ अनि त्यसरी अर्काको खल्ती वा गोजीबाट मनी पर्स वा पैसा थाहै नपाउने गरी झिक्नुलाई ‘पाकिट काट्नु’ भनिन्छ । पाकेटहरूबारे हेनतेने लेख्नु बुद्धिमानी होइन अवश्यै । निपुण कलारुपमा पाकेट काट्ने परम्पराले दीर्ध दिनदेखि नै समाजमा आफ्नो ठाउँ बनाएको छ । त्यति पर जाने मनसाय मेरो नभए पनि एउटा कुरा चाहिँ छाती ठोकेरै के भन्न चाहन्छु भने, हाम्रो पहाड़तिर अर्काको  खल्ती वा गोजीबाट मनी पर्स वा पैसा झिक्ने पाकिटमारहरू देखिँदैनन् । जबकि मधेसमा भने यस्ता पाकिटमारहरू घुँइचो, हाट-बजार, मेला, रेल्वे स्टेशन्, बस-स्ट्याण्ड, बसभित्र हुन्छन ।
सबैको पाकेट काटिएको हुँदैन, छैन पनि। तर पाकेटमारहरूबारे विभिन्न मानिसका विभिन्न मतहरू छन् । पाकेट काटिनेहरूा मनको अवस्था कस्तो हुन्छ सो ता भुक्तभोकीहरूलाई मात्र जान्दछन् । पाकेटमारहरूको पाकिट मार्ने कला अचम्मकै हुन्छ । कथङ्कल कसैको पाकिट मार्दा-मार्दै पक्रा पऱ्यो भने चाहिँ सामूहिक पिटाइले पाकिटमारको अवस्था कस्तो हृदयविदारक हुन्छ त्यसको वर्णन गर्ने सक्तिनँ म । पाकिटमार पक्रा परेका गाइँगुइँ सुन्ने बित्तिकै पीड़ादायक सामूहिक चुटाइको हुद्दामा अफिसबाट दिनहुँ आल्पिन, जेम्स क्लिप, रेजिष्टर खाता, फुलस्केप पेपर आदि आफनो ब्यागमा लुकाएर ल्याउने सरकारी कर्मचारीसमेत उक्त पाकेटमा3रलाई मच्ची-मच्ची पिटेको दृश्य साह्रै मज्जाइलो देखिन्छ । उनले आफ्नो ब्यागभित्र सरकारी सामानहरू आफ्नै सहकर्मीहरूको आँखा छली ढुक्कैले घुसारेर ल्याएका कुरो भुसुक्कै बिर्से पनि पाकेटमारलाई एक लबटा वा एक लात हानेर मात्र भद्रा व्यक्तिको परिचय दिने प्रयास गर्छ ।
पाकेट काट्नु पनि एउटा कला हो, सीप हो । जोसुकैले पाकिट काट्न सक्तैन । यसको निम्ति विशेष तालिम लिएको हुनुपर्छ । ठूल्ठला शहरहरूमा पाकेट काट्ने तालिम दिइन्छ । पाकेटमारको तालिम लिनेहरू प्रायः दसदेखि तेह्र-चौध वर्षसम्मका बेवारिस भुराहरू हुन्छन् । पछि यिनै भुराहरू दक्ष पाकिटमारमा परिणत हुन्छन् । जस्तै घुँइचोमा पनि आफ्नो आौंलीको सीपले अर्काको खल्तीबाट मनीपर्स वा पैसा एक मिनटमै निकाल्छ । आफ्नो औंलीको सीप चलेन भने यी पाकिटमार छुरा चलाएर पनि आफ्नौ काम फत्ते पारी छोड़्छन् । यसैकारण ता, मधेसका बसहरुतिर ‘पाकेटमारदेखि सावधान’ भन्ने सतर्क लेखिएको देखिन्छ । तरै पनि मधेसका बसभित्र नै प्रायः पाकेट काटिन्छ । सिलगढ़ी कोर्ट मोड़देखि लार्जिलिङ मोड़सम्म, दार्जिलिङ मोड़देखि मतिगड़ासम्म, मतिगड़ादेखि बाधडुग्रासम्म्, बाघडुग्रादेखि ऩक्सलबारसम्म अऩि नकसलबारीदेखि पानीट्याङ्की (नेपाल सिमाना) सम्म आ-आफ्ना इलाका बाँड़ेका हुन्छन् यी पाकेटमारहरूले । आफ्नो इलाकाबाहेक अरुको इलाकमा कसैले पाकिट मार्नु पाउँदैन । ठुङमार्दो कुरा ता के छ भने,  मानिलिनोस्, कोर्ट मोड़देखि दार्जिलिङ मोड़सम्ममा एकजनाको पाकिट काट्न सकिएन भने ती पाकेटमारले दार्जिलिङ मो़ड़देखि मतिगड़ासम्म आफ्ना सहृपाकेटमारलाई जिम्मा दिएर बसबाट ओर्लिन्छ । मतिगड़ासम्म पनि त्यो काम सफल भएन भने त्यो का य़थाक्रमले इलाका-इलाकाका सहपाकेटमार साथीलाई सङ्केत दिएऩ आफू ओर्लिन्छ । आफूले चिनाएको व्यक्तिलाई अऩ्य इलाकाका पाकेटमार साथीले पाकेट मारेका खण्डमा सामान्य अंश कमिसन दिइने पनि चलन छ । एकपल्ट पाकेटमारको नजरमा परेपछि सिलगढ़ी कोर्ट मोड़देखि आरम्भ गरेर कुनै न कुनै ठाउँ पाकेट काटिन्छ काटिन्छ ।
अझ अचम्म र उदेकलाग्दो  कुरो ता के छ भने, बसका कण्डक्टर, खलासी प्रत्येकले प्रत्येक पाकेटमारलाई चिनेको हुन्छ । तर कसैले पनि फलानु पाकेटमार हो भनेर आफ्ना यात्रुहरूलाई चिनाउन ता के सुइँकोसमेत दिँदैन । यसको कारण प्रत्येक बस स्टाफलाई कमिसन दिइन्छ भन्ने पनि पाकेटमार सूत्रबाट थाहा लागेको छ । तर ती बस स्टाफलाई तपाईहरू कसैले पनि ‘तिमीहरूले पाकेटमारले चिन्नुपर्ने’ भनेर साध्नुभयो भने उनीहरूको एउटै जवाफ हुन्छ, ‘यिनीहरूसित बैरी गरेर थोरै हामीले ज्यान गुमाउनु छ र! तपईहरू एकदिन बसमा चढ़ेपछि फेरि-फेरि यो बाटो नहिँड़्दा हुन्छ तर हामी ता रातदिन यही बाटो ओहोर-दोहोर गर्नुपर्छ ।’ यसैकारण बसतिर ! ‘पाकेटमारदेखि सावधान’ लेखिएको सतर्कवाणी ता बसवालहरूले आफूलाई जोगाएका हुन् कि भन्ने शङ्का लाग्छॉ। ‘सुझनीमा के छ हजूर, बुझनीमा छ’ भनेजस्तो खास गु़ढ़ कुरा ता अर्कै छ ।
हिजोआज मधेसतिर मोबाइल चोर्नेहरूको रगरगी छ । विशेष यस काममा युवती नै देखिन्छन् । तपाईले बोकेको मोबाइल चोर्नुपऱ्यो भने बस वा टोटोति वा अटोतिर सुन्दरी युवती चढ़ी तपाईको जिउमा टाँसिन्छे । मधेसजस्तो भीड़-भाड़मा यसरी धक्की लाउने वा जिवैमा टाँसिने कति हुन्छन् कति । भीड़मा कसैलाई किन धक्की लाइस् वा जिउमा टाँसिस् भनेर निहुँ खोज्ने कुरै आएन। यसमै मौका छोपी युवतीहरू मोबाइल मात्रै होइन ब्यागभित्रका पैसा समेत गुटमुटाउँछन् ।
हाम्रो पहाड़तिर पाकिट काटिँदैन । अझै खुलस्त पारेर भनुँ भने, हाम्रो गोर्खे समाजमा पाकेटमारहरू अहिलेसम्म जन्मेका छैनन् । हाम्रा गोर्खे आमाहरूले बरु ड्रग्स खाने, शहिद हुने खाल्का छोराहरू जन्माइदिएका छन् । तर पाकेटमार छोरा जन्माएका छैनन् अद्यापि । यसैकारण मधेसतिर मात्रै पाकेटमारको रगरगी देखिन्छ । मधेसका पाकेटमार युवाहरूले पाकेट काट्ने कलालाई पेशाकै रुपमा ग्रहण गरेर आफ्नो घर-संसार चलाउँछन् । पाकेट काट्न नै यिनीहरूको ध्याउन्न देखिन्छ । पहाड़का युवाहरूको वर्तमान अवस्था र गति देख्दा मधेसका युवाहरूले पाकिट काट्नमै आफूलाई समर्पित  गरेका मलाई ठिक लागेको छ । कम्तिको पनि यी पाकेटमारहरू हाम्रा गोर्खे युवाहरूजस्ता  ड्रगिष्ट वा ड्रग्स बेचेर आफ्नै समाजलाई खङरङ्ङै ता पारेका छैनन् वा सामान्य पैसाको लोभमा कसैका छोरा, कसैको लोग्ने, कसैको माइतीलाई ता खुकुरीले छिनाएका छैनन् । अथवा आफ्नै चेलीबेटीलाई मधेसका नेतीहरूलाई ता सुम्पेका छैनन् । दिनमा हरदर पचासजनाका पाकेट काट्लान् यी मधेसका पाकेटमारहरूले । हरदर पचास जनाका परिवार सामान्य दुःखी होलान् । हप्ता वा महिना दिनपछि पाकेट काटिएको हृदयविदारक घटना बिर्सेलान् । हप्ता वा महिना दिन अघि पाकेट काटिएको व्यथा बिस्तारै बिसेक हुँदै जानेछ । तर हाम्रो पहाड़मा वर्षमा एकैजना परिवारका एकैजना सदस्य यी पाकेटमारकै दौंतीरीहरूद्वारा काटिँदा, मारिँदा एउटा सिङ्गो परिवार आजन्म बिल्लीबाठ हुँदैन र ? हाम्रो समाजो यस्तो कहालिलाग्दो अवस्था देख्दा ता तपाईृ- हाम्रा छोराहरू पाकेटमार नै भइदिएका असल होइन र! ड्रग्स खाने, ड्रग्स सप्लाई गर्ने वा आफ्नै गाउँका मान्छेको हत्या गर्ने छोरोभन्दा पाकेटमार छोरो नै जन्मिदिएको ठीक लाग्न थालेको छ अचेल मलाई ।
पाकेटमारको एउटा कथा सुनाउन मन लाग्यो । बाघडुग्रा जाने बसमा यूनिभर्सिटी जाँदै थिएँ म । पछिल्लो सिटमा अचानक एकजना अधवैंशे यात्री रुन थाले. ‘मेरो सर्वनाश भयो । पाकेटमारले मेरो मेनी पर्स लग्यो ।’ सबैले तिनलाई ट्वालट्वालती हेर्न थाले । नेक्सट स्टपेज आइपुग्नै आँटेको थियो । एकजना खाइलागदा युवक केही वास्तै नगरी पछिल्तिरबाट सबैलाई ठेल्दै गेट छेउमा पुगेर एक्कासी चिच्यायो, ‘रुन्छस् ? नाथे पच्चीस रुपियाँको लागि रोएर दुनियाँलाई हसाउँछस् ? ला….तेरो मनी पर्स ।’ रुने मान्छेको काखैमा मनी पर्स झटारो हानेर ती युवक बीचैमा बसबाट ओर्लियो ।
यसबाट के बुझिन्छ भने, पाकेटमारले चानचुने पैसा होइन मोटो रकम नै पाकेट मार्छन्  अर्थात् मधेसका यी पाकिटमारहरू गुन्द्रुकको झोलमा कदाचित् जात फ्याँक्दैनन् । मधेसका पाकेटमारहरूका चरित्र स्पष्ट हुन्छ भन्ने यसैबाट प्रमाण पाइन्छ । युवक पाकेटमारले आफ्नै बल-बुता, कला, परिश्रम तथा बुद्धिले अर्काको खल्तीबाट झिकेको ब्याग फेरि उसैलाई फिर्ता गरेर समस्थ पाकेटमार समाजप्रति अनुगृहित हुने काम गऱ्यो ।
तर हाम्रो पहाड़मा भने, अर्काको बुद्धिमा, अर्काको होहोरीमा लागेर आफ्नै समाज-गाउँ-घरका मान्छेलाई नृशंस हत्या गरेपछि हत्याराले शोकाकुल परिवारलाई त्यसको मोल चुकाउन सक्लान् के ता हाम्रा युवा हत्याराहरूले ? ड्रग्स सप्लाई गरेर आफ्नै समाजका साथी-भाइहरूलाई मतिभ्रष्ट-गतिभ्रष्ट पार्ने हाम्रा पहाड़का किटाणुहरूले धमिराले खाएजस्तै ड्रगस्ले खङरङ्ङै पारिसकेको सुन्दर पहाड़लाई हरियै पार्ने सक्लान ?
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, हामी गोर्खेहरूका भविष्यको पाकेट विभिन्न प्राकरले काटिएका छन् । राजनैतिक छुरीले हाम्रो भविष्यको पाकेट काटिएको छ भने ड्रग्सको हण्टरले युवा समाजको उज्जवल भविष्यको पाकेट काटिएको छ । पाकेटमारहरूद्वारा4 एकाध मानिीसहरू सामान्य ठगिन्छन् वा लुटिन्छन् मात्रै तर उनीहरूको भविष्या ता लुटिँदैन कमसे कम ! हाम्रा राजनैतिक पाकेटमारहरूले हाम्रो टेक्ने ठाउँ ऱ समात्न हाँगा नै राजैतिक बुल्डोजरतै सिद्राजस्तो  चेप्टो न चेप्टो पारिदिएका छन् । यसैले हाम्रो भविष्य चेप्टिएको छ, नेप्टिएको छ, ङालाक्-ङालिक् भएको छ । यो कहिले सोलोडोलो हुने हो, कहिले बान्की पर्ने हो ?
यसैकारण, मलाई ती अचेल पेशागत पाकेटमार भन्दा पनि हाम्रो भविष्यलाई भीरको चिण्डोजस्तै पार्ने राजनैतिक पाकेटमारहरूसित डर लाग्न थालेको छ । ‘आफ्नो थैलो बलियो बांध्नु, साथीलाई चोर नलाउनू’ भन्ने बूढ़ापाकाको उखान रुपियाँमा सोह्रै आना सही लाग्न थालेको छ । यसैले मेरै मात्र होइन, अब जन्मिने छोराहरू जति सबै पाकेटमार नै भएर जन्मिदिउऩ् । यति हो हाम्रो पहाड़ा कुना-काप्चा, शहर-बजार, गाउँ-घरमा पाकेटमारै पाकेटमार फैलेलान् । जोसुकैको पाकेटड काटिएलान् । ठीकै छ । हाम्रा पाकेटमारले हाम्रैहरूको पाकेट काट्लान् ।  ठीकै छ । हाम्रा पाकेटमारले हाम्रैहरूका पाकेट काटुन् न के भो र ! पहाड़का सबै छोराहरू पाकेट काट्ने धन्दामा लाग्दा कम्तिको पनि हाम्रो पहाड़मा हत्या गर्ने प्रतियोगिता नहोला, ड्रग्स खाने वा ड्रग्स सप्लायरहरू निमिट्यान्नै होलान् । राजनैतिक पाकेटमारहरूका सङ्ख्यामा ह्रास आउला । हाम्रो सुन्दर पहाड़को भोलिको बिहान सुनौलो होला….हाम्रो भविष्यचको गोरेटो फाँटिलो र फराकिलो होला ।
तपाई-हाम्रो पाकेट काटिँदा तपाई-हामीलाई सामान्य विसञ्चो भएको हाम्रो पहाड़ हत्या, ड्रग्स, चेलीबेटी बेचबिखन र राजनैतिका कुठाराघातबाट मुक्त भएर मुस्काउलिन् मनग्गे हर्षविभोर भएर । तपाई-हामीलाई हाम्रो सुन्दर पहाड़ मुस्कुराएकी मन पर्दैन र ! अँ, मन पर्दैन भने ता कुरै आएन तर तपाईले तपाईको आँतभित्रबाट माया गर्ने गरेको पहाड़ हाँसेकी, मुस्कुराएकी तपाईलाई साँच्चै मनपर्छ भने तपाईका छोरोलाई तपाईले हत्यारा, ड्रगिष्ट, सप्लायर, चेलीबेटी बेचुवा तथा राजनैतिक पाकेटमार होइन खल्ती काट्ने पाकेटमार बनाउनुहोस् । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने ।

नेपालको बसतिर पनि पाकेटमारदेखि जोगिनुहोला वा होशियार भनी सतर्कता लेखेको देखेँ । नेपालतिरका पाकेटमार कस्तो होलान् …भन्ने प्रश्नले मलाई कोपरिरह्यो । नेपालमा खल्ती काट्ने पाकेटमार ता होलान्…राजनैतिक पाकिटमार चैं नेपालमा जन्मिउन् भनी माई खोलालाई दस पल्ट ढोगें ।  
पाकेटमार नेपालमा होस् वा हाम्रो दार्जिलिङ (भारतमा) सो बारे मेरो भन्नु केहि छैन तर खल्ती काट्ने पाकेटमारभन्दा राजनैतिक पाकेटमारदेखि जोगिनुहोस् ।
लाखेस् ! (साभारः दिव्य रोशनी साप्ताहिक, वर्ष १७ अंक १० बाट)       
[email protected].