समाजसेवी हर्षु राईले लण्डनमा रहेकि आमाको जन्मोत्सव वृद्धाआश्रममा मनाईन्

दिव्य रोशनी (धरान)/ धरान १९ निवासी गायिका तथा समाजसेवी हर्षु राईले आफ्नी ममतामयी आमाको जन्मोत्सव रामजानकी वृद्धाआश्रमका वृद्धाहरुसँग मनाएकी छिन्।
समाजसेवी राईले युके(लण्डन)मा बसोबास गर्दै आएकी आफ्नी ममतामयी आमा धुपमाया राईको ७४ औं जन्मदिनको अवसरमा आज आईतवार ईटहरी १६ पकलीस्थित रामजानकी शान्ति वृद्धाश्रमका १० जना वृद्धाहरुलाई एक छाक खाना खुवाउनुका साथै कपडा (लुङ्गी) समेत प्रदान गरेकी छिन्।


आमाको जन्मदिनको अवसरमा समाजसेवी राईले आश्रममा रहेका वृद्धाहरुलाई एकैछिनभएपनि गीत/संगीतको माध्यमद्धारा मनोरञ्जन समेत दिलाएकी थिईन्। आश्रममा रहेका वृद्धाहरु पनि निकै खुशी भएका थिए।
उक्त कार्यक्रमबीच धरान १० निवासी समाजसेवी तथा ब्युटिसियन कमला सुब्बाले समेत वृद्धाहरुलाई चिया खर्चका साथै दिउँसोको खाजा वापत सेलरोटी प्रदान गरेकी थिईन्।


आश्रमका वार्डेन मिरा पोख्रेलले आश्रममा रहेका वृद्धाहरुको साथमा धरानबाट आमाको जन्मदिन मनाउन आएकोमा धन्यवाद समेत दिए। साथै उनले सहयोगी व्यक्ति तथा सामाजिक संघ/संस्थाले प्रदान गर्ने सहयोगले नै आश्रम चलिरहेको बताउँदै आगामी दिनहरुपनि सहयोगको अपेक्षा समेत गरे।
धरान उप–महानगरपालिकाबाट केही महिना अघि अवकास लिएकी समाजसेवी राईले आफुले कमाएको पारिश्रमिकबाट समाजसेवा गर्दै आएकी छिन्। उनले आफ्नी आमाको जन्मदिनमा मात्रै नभइ छोरी आङसाङ लिम्बुको जन्म दिनको अवसरमा साथै आफ्नो जन्मदिन समेत विभिन्न बालआश्रम, वृद्धाआश्रम र दुःखी पीडितहरुको साथमा मनाउने गरेकी छिन्। उनीहरुको साथमा जन्मदिन मनाउन पाउदा मन खुशी र आनन्दित हुने भएकाले पनि समाजसेवामा रुची बढेको राईले बताईन्।
राईले यसअघि पनि मृगौला रोगी र क्यान्सर रोगीहरुको उपचारमा थप टेवा पुगोस् भनि आर्थिक सहयोग समेत गर्दै आएकी छिन्।