बालआश्रमका बालबालिकाहरुसंँग दिव्य रोशनीको वार्षिक उत्सव

दिव्य रोशनी (धरान)/ श्रमजिवी पत्रकार महिलाद्धारा सम्पादित तथा प्रकाशित दिव्य रोशनी साप्ताहिकले धरान ३ स्थित सरस्वती बालआश्रमका बालबालिाहरुसंँग आफ्नो वार्षिकउत्सव मनाएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण लक डाउन भएको बेला दिव्य रोशनी साप्ताहिक पत्रिकाले सामाजिक सुरक्षालाई ध्यानमा राख्दै आज विहिवार बालआश्रममा आप्mनो १७ औं स्थापना दिवस मनाएको हो।
कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङले अहिले विश्व नै कोरोना भाईरसको संक्रमणले गर्दा लक डाउनको अवस्थामा रहेको बेला दिव्य रोशनीले स्वास्थ्य सुरक्षा अपनाउँदै बाल आश्रमका बालबालिकाहरुलाई बिहानको खाना खुवाई वार्षिक उत्सव मनाएको बताईन्। उनले पत्रिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत यसपटक बालआश्रमका बालबालिकाहरुको साथमा वार्षिकउत्सब मनाएको बताउँदै लक डाउनको बेला आश्रमलाई झनै सबैले सहयोग गर्नुपर्ने बताईन्। बालआश्रममा २९ जना बालबालिकाहरु आश्रित छन्। उनीहरु नर्सरीदेखी बिबिएससम्म अध्ययनरत रहेका छन्।
यसैगरी आश्रमका अध्यक्ष दान बहादुर राईले लक डाउनको समयमा पनि दिव्य रोशनी साप्ताहिकले सम्झेर आश्रमप्रति गरेको सहयोगको प्रशंसा गरे। उनले सबैको सहयोगले नै आश्रम चलिरहेको बताउँदै लक डाउनको समयमा झनै आश्रमलाई सहयोगी दाताहरुको खाँचो पर्ने बताए।
दिव्य रोशनी अनलाईन दोस्रो वर्षमाः
यसैगरी कोरोना महामारीको अवस्थामा अग्रभागमा रही रिपोर्टिङ गर्ने धरानका संचारकर्मीहरुलाई दिव्य रोशनीले आफ्नो अनलाईन संस्करणको पहिलो वार्षिकउत्सवको अवसरमा के.एन. ९५ मास्क समेत वितरण गरेको छ। दिव्य रोशनीका प्रबन्ध निर्देशक सागर सिंजालीले कोरोना महामारीका बेला जनतालाई सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुको स्वास्थ्य सुरक्षामा थप सहजता होस् भनेर के.एन. ९५ मास्क वितरण गरिएको बताए।
हरेकवर्ष आफ्नो वार्षिकउत्सवमा विविन्न सामाजिक कार्य गर्दै आएको दिव्य रोशनीले गतवर्ष कोरोनाको महामारीमा धरान उप–महानगरपालिकाद्धारा स्थापित फुड बैंकमा ४ सय केजी चामल र १० केजी न्युटेला प्रदान गरेको थियोभने आफ्ना चारजना कर्मचारी तथा सहयोगीलाई खाद्यान्न समेत प्रदान गरेको थियो।
यसैगरी विगतका वर्षहरुमा दिव्य रोशनी साप्ताहिकले पत्रिकाको स्थापना दिवसमा धरानलाई कार्यक्षेत्र बनाई कार्यरत संचारकर्मीहरुलाई नगद सहित सम्मान गर्दै आएको थियो। पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङका दिवंगत बुवा ब्रिटिश क्वीन गोर्खा ईञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृितमा १ जना पुरुष र १ जना महिला पत्रकार र दिवंगत कान्छा दाजु स्व.बाजुन राईको स्मृतिमा १ जना युवा पत्रकारलाई जनही पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ सहितको सामाजिक पत्रकारिता सम्मान र युवा सृजनशिल पत्रकारिता सम्मानबाट सम्मान गर्दै आईरहेको छभने हरेकवर्ष २ जना समाजसेवीलाई अभिनन्दन समेत गर्दै आएको छ।
दिव्य रोशनीले यसअघि धरानलाई कार्यक्षेत्र बनाउँदै आएका पत्रकारहरु भवानी बराल, गंगा बराल, गोपाल देवान, महेश श्रेष्ठ, गिरीराज आचार्य, हर्ष सुब्बा, केशव घिमिरे, जनकऋषी राई, सिता मादेम्बा, निलिफा सुब्बा, रोहित राई, सुम्निमा चाम्लिङ, रिता मोक्तान, लक्ष्मी दर्नाल, रणध्वज लोहार, दिनेश विश्वकर्मा, गोविन्द बस्नेत,रत्न प्रसाद आचार्य, गमबहादुर लम्जेल, भरतराज शर्मा, तारा लामगादे, जमुना श्रेष्ठ सम्मानित भईसकेका छन्।
यसैगरी समाजका अगुवा व्यक्तित्वहरु शरला कायस्थ, किशोर कुमार कार्की, जय श्रेष्ठ “शान्ति”, भिष्मा चेम्जोङ, हर्षु राई, पूर्ण बहादुर गुरुङ, अकल बहादुर मेन्याङ्वो, मिना पुलामी, विद्या शाक्य, राजिव हलवाई, मधु स्थापित र सबिता राई लगायतलाई अभिनन्दन समेत गरिसकेको सम्पादक चाम्लिङले बताईन्।

5,194 thoughts on “बालआश्रमका बालबालिकाहरुसंँग दिव्य रोशनीको वार्षिक उत्सव