कोरोनाको अनावश्यक त्रास र सामनाका केही सूत्रहरु

गत डिसेम्बर महिनाबाट छिमेकी चीनको बुहान प्रान्तबाट शुरु भएको नोवेल कोरोना भाइरसले यो आलेख तयार पार्दा (११ मार्च २०२०) सम्ममा ११४ देशका १ लाख १८ हजार जना बिरामीलाई प्रभावित पारेको पक्का भइसकेको छ।
तीमध्ये ४ हजार २९१ जनाको मृत्यु भएको समाचार छ । शुरु भएको तीन महिनामै यति धेरै देशमा फैलिन सफल भएकाले पछिल्लो समय विश्व स्वास्थ्य संगठनले यसले विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । कोरोनाले सबैभन्दा बढी छिमेकी देश चीनमा असर गरेको छ, जसलाई यसको उद्गम थलो पनि मानिएको छ । नेपालमा हालसम्म एक जनामा मात्र नोवेल कोरोना भाइरस भएको पुष्टि भएको छ ।
चीनकै बुहानबाट उद्धार गरी ल्याएका विद्यार्थीहरु कसैमा पनि कोरोना भएको पुष्टि नभएपछि उनीहरु क्वारेटाइनमुक्त भैसकेका छन्। यो कोरोनाको विश्वव्यापी महामारीसँगै विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्रा्िष्ट्रय निकाय एवं सबै देशका सरकारहरु यसको नियन्त्रण र रोकथामका निम्ति लागि परिरहेका छन् । नयाँ भाइरस भएकाले यसकाबारे अध्ययन अनुसन्धान पनि जोडतोडका साथ चलिरहेकै छ।
तथापि, नयाँ भाइरस भएकै कारण यसबारे सामाजिक सञ्जाल एवं इन्टरनेटमा अफवाहपूर्ण समाचारहरुको बाढी नै आइरहेको छ। यसले गर्दा विश्वव्यापीरूपमै आम जनमानसमा थप अनावश्यक त्रास उत्पन्न भैरहेको छ। र, यसले कोरोनाको नियन्त्रणमा सघाउ पुर्याउने भन्दा पनि उल्टो हानी नोक्सानी पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको ठहर छ।विश्व स्वास्थ्य संगठनले त यस्ता अफवाहपूर्ण पत्रु सूचना र जानकारीको महामारी नै फैलिएको र यसको उचित नियन्त्रण गर्न नसकेमा कोरोनाको विश्वव्यापी महामारी नियन्त्रणमा समेत समस्या हुने निक्र्याैल गर्दै त्यस्ता अफवाहमाथि निगरानीका निम्ति कार्यदल नै बनाएको छ। त्यसैगरी गुगल, युट्युब, ट्विटर, फेसबुक, व्ह्वाट्सएप, भाइबर लगायतका कम्पनीहरुले समेत यस्ता अफवाहपूर्ण समाचारको नियन्त्रणका लागि प्रभावकारी कदमहरु चालिरहेका छन् । तर, पनि यस्ता समाचारहरु पूर्णरूपमा नियन्त्रणमा आउन सकेका छैनन् । त्यसर्थ आम जनमानसमा जानकारी दिने भन्दा पनि त्रास फैलाउने यस्ता भ्रामक सूचनाबाट पर्ने नकारात्मक असरका बारेमा बेलैमा जानकार हुनु र त्यसबाट बच्नु एकदमै जरूरी छ।विभिन्न कारणले विश्वव्यापीरूपमै कोरोनाको बारे धेरै मानिसहरुमा अनावश्यक त्रासको समस्या देखिएको समाचारहरु आइरहेका छन् । पछिल्लो समय नेपालमै पनि त्रासका बढाउने खालका समाचार आइरहेका छन् ।
यो आलेखमा कोरानाको त्रासका लक्षण र त्यसबाट बच्ने उपायहरुका बारे चर्चा गरिनेछ। सामान्यतः आफूलाई जानकारी नभएको समस्या आइपरेमा मनमा केही डर त्रास उत्पन्न हुनु स्वाभाविकै हो। त्यसमाथि पनि नोवेल कोरोनाजस्तो मानव समुदायलाई कम जानकारी भएको भाइरसका कारण विश्वव्यापी महामारीको परिस्थिति सिर्जना हुँदा आम जनमानसमा केही त्रास उत्पन्न हुनु निश्चितरूपमा स्वाभाविक कुरा हो ।
पछिल्लो समय इन्टरनेटको सहज पहुँचसँगै मानिसहरुको सूचनामा पहुँच निकै सहज भएको छ र निमेषभरमै विश्वको कुनै पनि कुनामा भएको घटना अर्को कुनामा पुगिसक्छ । त्यसैले, हरेकपटक कुनै नयाँ रोग (जस्तै– केही समयअघि सार्स र इबोला भाइरसको महामारी) को महामारी देखिन्छ, त्यसबाट शुरुवातमा विश्वव्यापी रूपमै केही बेचैनी, असामज्यस्य स्थिति पैदा हुन्छ । तर, समय क्रममा यस्ता रोगबारे थप जानकारी हासिल भएसँगै यसले उत्पन्न गर्ने त्रास पनि कम हुँदै जान्छ।
तथापि, पछिल्लो कालखण्डमा कुनै पनि महामारीले विश्वव्यापी रुप लिन पाएका थिएनन्, जुन नोवेल कोरोनाले लिएको छ। त्यसैले पनि मानिसहरुमा केही त्रास हुनु स्वाभाविक हो ।तर, पछिल्लो समय धेरै मानिसहरुमा अनावश्यक त्रासको समस्या देखिएको समाचार बढ्दै गएका छन् ।
के हो अनावश्यक त्रास ?
माथि भनिएजस्तै केही मात्रामा त्रास हुनु स्वाभाविक हो, जसले हामीलाई समस्याका बारे अझै बढी सजग रहन र त्यसको सामना गर्ने उपायहरुकाबारे सक्रिय हुन प्रोत्साहित गर्छ। तर, केही मानिसहरुमा यो त्रास बढी नै मात्रामा देखिन सक्छ, जसका कारण ती व्यक्तिलाई निरन्तर त्रासको महशुस हुने र असहज हुने समस्या देखा पर्न सक्छ। जसका कारण उक्त व्यक्तिको दैनिक जीवनमा असर पर्न सक्छ । यस्तो ‘अत्यधिक त्रास’ नै अनावश्यक त्रास हो।
लक्षणहरुः
अनावश्यक त्रास भएको खण्डमा यस्ता लक्षणहरु देखिन सक्छन्–
– आफूलाई कोरोनाकै संक्रमण भयो कि भन्ने शंका भैरहने र त्यसले गर्दा अत्यधिक डर त्रास उत्पन्न हुने।
– सामान्य खोकी मात्र लाग्दा पनि कोरोना नै भयो कि भनेर अत्यधिक डराउने।
– त्रासका कारण कुनै कुरामा वा आफ्नो दैनिक कामकाजमा ध्यान केन्द्रित गर्न गाह्रो हुने ।
– डरका कारण एक्कासी सास बढेजस्तो हुने । सास फेर्न गाह्रो भएजस्तो हुने । मुटुको धड्कन बढेको महसुस हुने ।
– रोगकै त्रासका कारण निद्रामा पनि समस्या हुने, निद्रा नलाग्ने ।
– बेचैनी, छटपटी हुने ।
– सामाजिक घुलमिल हुन डर लाग्ने।
– आफ्नो स्वास्थ्यबारे अनावश्यक र अत्यधिक चिन्ता हुने आदि ।
कतिपय पहिल्यै मानसिक रोग भएका व्यक्तिका हकमा यही अनावश्यक चिन्ता र त्रासका कारण मानसिक रोग बल्झिने वा बढी च्याप्ने समस्या पनि हुन सक्छ। कोरोना प्रभावित देश र क्षेत्रबाट फर्किएका वा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई पनि यो समस्याले सताउने सम्भावना बढी हुन्छ । यसमा सामाजिक सञ्जालमा आउने वा गाउँघरमा चल्ने अनावश्यक र अफवाहपूर्ण हल्लाले बढी भूमिका खेल्न सक्छ ।
त्रासबाट बच्ने उपायहरु यी हुन सक्छन्ः
सत्य–तथ्य बुझ्नु, भ्रमबाट टाढै बस्नु कोरोनाको अनावश्यक त्रासबाट बच्न सबैभन्दा प्रभावकारी उपाय भनेको परिस्थितिको सत्य–तथ्य बुझ्न सक्ने हुनु हो। कोरोनाको संक्रमण, यसको जोखिम र लक्षणहरुबारे विश्वासिलो र भरपर्दो निकाय र माध्यमबाट मात्र सूचनारजानकारी लिनु जरूरी हुन्छ न कि सामाजिक सञ्जालमा शेयर गरिने ‘उत्तेजक’ कुराहरुबाट ।
उदाहरणका निम्ति विश्व स्वास्थ्य संगठनको वेबसाइट,संयुक्त राज्य अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको आधिकारिक वेबसाइटमा कोरोना भाइरस संक्रमणबारे जानकारी दैनिकरूपमा अपडेट गरिन्छ र यी वेबसाइट एकदमै विश्वसनीय छन् । त्यस्तै नेपालको सन्दर्भमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट मा पनि बेलाबखत यससम्बन्धी जानकारी प्रकाशित हुन्छन् ।
यिनै भरपर्दा र विश्वसनीय माध्यमबाट यथार्थ जानकारी लिँदा अनावश्यक त्रास हुने सम्भावना कम हुन्छ ।
कोरोनासम्बन्धी समाचार सकेसम्म कम हेर्ने
त्रास बढ्दै जाँदा झन्–झन् बढी समाचार हेर्ने प्रवृत्ति हुन्छ र त्यसले डरलाई झन् बढाइदिन्छ । तसर्थ यस रोगसम्बन्धी जानकारीको निम्ति दैनिक बढीमा एकपटक माथि उल्लेखित विश्वसनीय माध्यमबाट जानकारी हासिल गर्ने र सामाजिक सञ्जालमा हल्लाहरुबाट टाढै रहनु उचित हुन्छ ।
स्वस्थ जीवनशैली अपनाउने
स्वस्थ जीवनशैली कोरोना भाइरस मात्र होइन, कुनै पनि शारीरिक र मानसिक रोगबाट बच्नका निम्ति उत्तम उपाय हो । स्वस्थ जीवनशैलीअन्तर्गत स्वस्थ खानेकुरा खाने, पर्याप्त मात्रामा सुत्ने, आवश्यक मात्रामा आराम गर्ने, नियमित शारीरिक व्यायाम गर्ने, कुनै पनि नशाजन्य पदार्थ सेवन नगर्ने, काममा व्यस्त रहने, सकारात्मक सोच राख्ने जस्ता व्यवहार पर्छन् ।
स्वस्थ जीवनशैलीले हाम्रो रोग प्रतिरोध क्षमतामा पनि अभिवृद्धि गर्ने हुनाले कुनै पनि रोगसँग लड्ने क्षमता बढ्न जान्छ र रोगबाट बच्ने सम्भावना बढ्न जान्छ ।
कोरोना सर्न सक्ने जोखिमको न्यूनीकरणका उपाय अपनाउने
नोबेल कोरोना भाइरस मुख्यतः श्वास–प्रश्वास प्रणालीको एक संक्रामक रोग हो र हालसम्म उपलब्ध तथ्यहरुका अनुसार यो संक्रमित व्यक्तिले खोक्दा निस्कने थुक, खकार र र्रुयालको छिटाको माध्यमबाट अर्को मानिसमा सर्छ । तसर्थ, यसबाट बच्ने सबैभन्दा भरपर्दो उपाय भनेको सम्भावित संक्रमित व्यक्तिबाट टाढै रहनु हो।नेपालमा हालसम्म विदेशबाट आएका एक व्यक्तिमा मात्र यस भाइरसको संक्रमण भएको यकिन भएको र समुदायमा यसको संक्रमणको कुनै प्रमाण नभएकाले त्यति आतिइहाल्नुपर्ने स्थिति छैन । तथापि अनावश्यक रूपमा भीडभाडमा नजाने, आफूलाई रुघाखोकी लागेको छ भने घरमै आराम गरेर बस्ने गर्नु उचित हुन्छ ।
त्यस्तै यो भाइरस संक्रमित व्यक्तिले खोक्दा निस्कने छिटा परेको स्थानमा पनि केही घण्टासम्म जीवितै रहन सक्ने र त्यसैबाट पनि संक्रमण हुन सक्ने भएकाले सार्वजनिक स्थानमा अनावश्यक ठाउँमा नछुने, छोइहालेको खण्डमा त्यस्तो हातले नाकमुखमा नछुने र सकेसम्म छिटो साबुन पानीले हात धुने वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, एक आपसमा भेट्दा हात मिलाउनुको साटो नमस्कार गर्ने जस्ता उपाय अपनाउँदा भाइरसको संक्रमण हुने जोखिम कम गर्न सकिन्छ।
आवश्यकताअनुसार विशेषज्ञको परामर्श लिने
सामान्य रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा आत्तिहाल्नु जरूरी छैन। नेपालमा हालसम्म समुदायमा यो रोगको संक्रमण फैलिएको प्रमाण छैन। तसर्थ, यदि तपाईं हालसालै नोवेल कोरोनाको उल्लेख्य संक्रमणर समुदायमा संक्रमण फैलिएको देशबाट फर्किनुभएको होइन वा त्यस्तो देशबाट फर्किएका र सम्भावित संक्रमण भएका व्यक्तिको सम्पर्कमा आउनुभएको छैन भने नोवेल कोरोना भाइरसको संक्रमणको जस्तो लक्षण देखिँदैमा पनि आत्तिइहाल्नु जरूरी छैन।
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार त्यस्ता लक्षण देखिएमा अरुलाई संक्रमण नहोस् भनेर आफैंले होसियारी अपनाउने, आफ्नो खोकीको छिटा नफैलियोस् भनेर मास्कको प्रयोग गर्ने, घरमा छुट्टै कोठामा आराम गरेर बस्ने र सकेसम्म भेटघाट कम गर्ने, माथि भनिए जस्तै संक्रमणको जोखिम कम गर्ने उपायहरु अपनाउने ।
समस्या बढ्दै गएर सास फेर्न गाह्रो भएको खण्डमा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क राख्नु नै नोवेल कोरोनाको संक्रमणबाट आफू बच्ने र अरुलाई पनि बचाउने सबैभन्दा प्रभावकारी उपाय हुन्। यदि यसो गर्दा पनि कोरोनाको त्रास कम नभएमा र दैनिक कामकाजमै असर पर्न थालेमा नजिकको स्वास्थ्यकर्मीसँग परामर्श लिन सकिन्छ। पहिल्यै मानसिक रोग भएका व्यक्तिहरुले भने यस्तो समस्या भएर आफ्नो रोग बल्झिन लागेको आशंका भएमा तुरुन्त सम्बन्धित विशेषज्ञलाई सम्पर्क गर्नु उचित हुन्छ।
अन्त्यमा, नोवेल कोरोनाको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै सरकार मात्र होइन, हामी सबै नागरिकहरुको समेत दायित्व थप बढेको छ। यस महामारीको नियन्त्रणको निम्ति हामी सबै एकजूट भएर मिलेर अघि बढ्नुको विकल्प छैन ।यो भाइरसको महामारी फैलिएसँगै विश्वव्यापीरूपमा यो रोगसँग सम्बन्धित गलत र अफवाहपूर्ण समाचारहरुका पनि महामारीकै रूपमा बाढी आएको छ।विशेष गरी फेसबुकजस्ता सामाजिक सञ्जालमा त यो समस्या झनै विकराल रूपमा देखा परेको छ। यसका कारण कतिपय मानिसहरुमा अनावश्यक त्रासको समेत सिर्जना भएको छ । र, यसले गर्दा कोरोनाको महामारी नियन्त्रण अभियानमै झन् प्रतिकुल असर पर्न सक्ने देखिएको छ।तसर्थ, हामी सबैले सत्यतथ्य र विश्वसनीय समाचार मात्र हेर्ने, सामाजिक सञ्जालमा शेयर गर्ने, अफवाहपूर्ण समाचारहरु निषेध गर्ने, स्वस्थ जीवन शैली अपनाउने र कोरोनाको संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन विशेष सावधानी अपनाऔं ।
सरकार अनि नागरिक हरुको यस्तै सकारात्मक सत्प्रयासको फलस्वरूप यस भाइरसको उद्गम थलो मानिएको र ८० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भएको छिमेकी मुलुक चीनले यसको संक्रमणलाई प्रभावकारीरूपमै नियन्त्रणमा लिन सफल भएको छ । विश्वव्यापीरूपमै हामी सबैको यस्तै सत्प्रयास भएमा यो महामारीलाई निश्चितरूपमा नियन्त्रणमा लिन सकिने समेत विश्व स्वास्थ्य संगठनले जनाएको छ ।आउनुहोस् सबै मिलेर कोरोनाको यो विश्वव्यापी महामारीलाई परास्त गरौँ।
(डा. मधुर बस्नेत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत मनोचिकित्सा विभागका सहपाध्यापक हुन्।)

48 thoughts on “कोरोनाको अनावश्यक त्रास र सामनाका केही सूत्रहरु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *