महिला, बालबालिका मन्त्री चौधरी स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीलाई मन्त्रालयका सचिब सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिब मनोज भट्ट लगायतले स्वागत गर्नुभएको थियो ।

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक, न्यायिक समानता लगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताउनु भयो । सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकीर गर्नुभयो । ‘भ्रमण फलदायी भएको छ । लैङिगक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरु, बर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरु बारे विश्वमाझ जानकारी दिन सके । सम्मेलनमा तीन वर्षदेखि मन्त्री स्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन । समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धीमुलक भएको छ ।’ उहाँले भन्नुभयाे ।

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताउनु भएको थियो ।

मन्त्री चौधरीले विश्व सम्मेलनमा बोल्दै मन्त्री चौधरीले महिला र युवतीहरुका सवालले नेपालले गरेका काम, अपनाएका नीति, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिला सहभागिताको बर्तमान अवस्था, सरकारले ब्यहोर्नु परिरहेको चुनौतिका बारेमा विश्वको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले महिला समानता र महिला सशक्तिकरणलाई सरकारले प्राथमिकतामा राखेको धारणा राख्दै १६ औं पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न राज्य प्रतिबद्ध भएको बताउनु भएको थियो ।

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको, लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको विश्वलाई जानकारी गराउनु भएको थियो । नेपालमा हाल करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको उहाँको धारणा छ ।

चौधरीले नेपाललाई गरिबी सम्बोधन गर्न श्रोत साधनको अभाव भएकाले असमानताहरु कायमै रहेको बताउँदै नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न, लैङ्गिक समानता र सबै महिला र युवतीहरूको सशक्तिकरण, शिक्षा, रोजगारी, उद्यमशीलता, स्रोत र सम्पत्तिमा समान पहुँच प्रदान गर्न, संस्था र क्षमताको कमीलाई सम्बोधन गर्न, महिला तथा युवतीको समग्र विकासमा लगानी गर्न प्रतिबद्ध रहेको प्रष्ट्याउनु भएको थियो ।